
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २९ असोज
महोत्तरीका नागरिक समाजका प्रतिनिधि तथा सञ्चारकर्मीहरुले मिथ्या तथा भ्रामक सूचना एवं समाचारले मतदाता प्रभावित हुने गरेको बताएका छन् ।
जलेश्वरमा एकाउन्टाविलिटी ल्यावले आयोजना गरेको एक कार्यक्रममा नागरिक समाजका प्रतिनिधि तथा सञ्चारकर्मीहरुले मिथ्या तथा भ्रामक सूचना एवं समाचार रोक्न आफूहरुले पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । निष्पक्ष, खुला र सुरक्षित निर्वाचनका लागि नागरिक समाजका प्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने शान्ति तथा विकासका लागि युवा सञ्जालका अध्यक्ष मो. रेजा अंसारीले बताए ।
निर्वाचनको बेला मात्र नभई बर्षभरि नै मिडिया मार्फत मतदाता शिक्षाको प्रचारप्रसार आवश्यक रहेको बताउँदै सञ्चारकर्मी गोपाल झाले यस कार्यका लागि स्थानीय एफएमहरुलाई जिम्मेवारी सुम्पिनुपर्ने सल्लाह दिएका छन् । कुनै निकाय वा संस्थाले आर्थिक सहयोग गरेको बेला मात्र सक्रिय नभई स्वयंसेवि ढंगले नागरिक समाजका प्रतिनिधिहरु निर्वाचनमा सबैको सहभागिता बढाउन जनचेतना फैलाउनुपर्ने जिकिर प्रगतिशिल युवा क्लवकी प्रतिनिधि कामनी चौधरीले गरिन् ।
उम्मेदवारी दर्ता गराउने बेलामा उम्मेदवारहरुले निर्वाचन आयोगमा दिएको सम्पूर्ण जानकारी मतदाताहरुमा सार्वजनिक गर्नुपर्ने माग समेत नागरिक समाजका प्रतिनिधिहरुले गरेका छन् । महिला अधिकारकर्मी साधाना बर्माले भनिन,‘अहिले सिधै उम्मेदवारहरु आएर मलाई भोट दिनुस् भन्छ तर उसले आफ्नो ब्यक्तिगत विवरण लुकाएर राख्छ । केही मतदाताहरु यसै कारणले पनि मतदान गर्न जाँदैनन् ।’
स्वस्फूर्त रुपमा नागरिक समाजका प्रतिनिधि तथा सञ्चार माध्यमहरुले मतदाता शिक्षालाई बढावा दिए बदर मतको संख्या घटाउन मद्दत हुने विश्वास संचारकर्मी नविन कुमारको छ । अर्को तर्फ समाजिक सञ्जाल मार्फत उम्मेदवारहरुको बास्तविक जानकारी सर्वसाधारणमा पुर्याउँदा जोखिम रहेको जिकिर महिला सञ्जालकी प्रतिनिधि सुनिता झाको छ । उनले निर्वाचन आयोग मार्फत सार्वजनिक हुने उम्मेदवारहरुको बास्तविक सूचना मतदाताहरु समक्ष पुर्याउन नागरिक समाजका प्रतिनिधि पछाडि नहट्ने विश्वास दिलाइन् ।
माँ दुर्गा युवा क्लवका प्रतिनिधि विपिन कुमार साहले समाजिक सञ्जाल अथवा आमसञ्चार माध्यमबाट हुने भ्रामक तथा मिथ्या सूचनाको अनुगमन गरि सोही दिन सचेत वा कारवाहीको लागि सम्बन्धित निकायले पहल गरेमा यसलाई रोक्न सकिने विश्वास ब्यक्त गरेका छन् । कार्यक्रममा सञ्चारकर्मी राकेश प्रसाद चौधरीले गलत सूचनामा यो गलत सूचना हो भन्ने टिप्पणी नभएसम्म भ्रामक सूचना फैलाउनेहरुको मनोबल कम गर्न नसकिने बताए । भ्रामक सूचना बिरुद्ध आवाज उठाउने माथि आइपर्ने जोखिम न्यूनिकरणको बारेमा सुरक्षा निकायको तयारी अहिलेसम्म नपुगेको समेत देखिएको उनले टिप्पणी गरेका छन् ।