हिन्दुहरुको महान आस्थाको पर्व छठ विधिवत सुरु, आज ‘नहाखाय’ – Jaleshwortoday

हिन्दुहरुको महान आस्थाको पर्व छठ विधिवत सुरु, आज ‘नहाखाय’

 ११ कार्तिक २०७९, शुक्रबार २३:५६  
uu

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ११ कार्तिक

तराई मधेशमा आजदेखि  हिन्दुहरुको महान आस्थाको पर्व छठ विधिवत सुरु भएको छ । चारदिनसम्म अत्यन्त नियम निष्ठापूर्वक मनाइने छठको पहिलोदिन आज ‘नहायखाय’ रहेको छ ।आजको दिन ब्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् । भोलि तेश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना गर्दछन् । त्यस्तै तेस्रो मूलदिन अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ । चौथो दिन (सोमबार) विहान उँदाउँदो सूर्यको अर्घ दिएपछि छठपर्व विधिवत समापन हुनेछ ।
छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाईन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ । अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ । तराई मधेशबासी अहिले पूर्णरुपमा छठपर्वको तयारीमा जुटेका छन् । छठपर्वको पूजा सामग्री जोरजाम किनमेल गर्न यतिबेला बजारमा घुइँचो लाग्ने गरेको छ । त्यस्तै आदिदेव सूर्य भगवानलाई अर्घ दिन तराई मधेशको नदी, तलाउ, पोखरी, ईनार लगायतको जलाशयको किनारमा घाटलाई सृंगारिने काम भइरहेको छ । खास गरी जनकपुरको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ लगायतको पोखरीहरुलाई नवदुल्ही झै सजाएर झकिझकाउ बनाउने कार्य जारी छ ।