कसरी बिर्सयौ आफूलाई ? – Jaleshwortoday

कसरी बिर्सयौ आफूलाई ?

 १३ मंसिर २०७९, मंगलवार २३:५०  
Jaleshwor Today Editorial

अहिले निर्वाचनको मत परिणाम प्रायजसो ठाउँको निस्किसके पनि केहि ठाउँको मत परिणाम आउँन बाँकी रहेको छ । खास गरेर मधेस प्रदेशमा मधेसबादी पार्टीहरुको समानुपातिक तथा प्रत्यक्षतर्फ मत बढनु पर्नेमा अहिले पनि राष्ट्रिय पार्टीहरुकै दबदबा कायम रहेको पाइएको छ । यस्तो कसरी हुन पुग्छ ? बुझ्न र सम्झाउन गाह्रो भएको छ । मधेस केन्द्रित पार्टीहरुमा जनमत पार्टी,लोसपा,जसपा बाहेक नेपाल सद्भावना पार्टी,तमलोपा,नेपाल जनता पार्टी लगायत दर्जनौ पार्टीहरुको समानुपातिक मत ज्यादै न्युन देखिन्छ । प्राप्त मत परिणामले दर्जनौ मधेस केन्द्रित पार्टीहरु यसपालि मधेस प्रदेश सभामा छिर्न पाउने छैन । यो निर्णय पनि मधेस प्रदेशका जनताहरुकै हुनुपर्छ । तर मधेस प्रदेशका मधेसी जनताले पनि अवश्य विचार गर्नु पर्ने के छ भने राष्ट्रिय पार्टी भएका पार्टीहरुलाई मधेस प्रदेशको समानुपातिक मत दिनु हुदैन । त्यो मतलाई मधेसका मधेस केन्द्रित पार्टीहरुलाई दिएर मधेस प्रदेश सभामा पठाउनु फाइदाजनक हुन्थ्यो । तर अहिले पुरानो गैरमधेसी पार्टीहरुले मधेस प्र्रदेशबाट राम्रो मत पाएका छन भने शुद्ध मधेसी पार्टीहरुलाई विस्थापित हुनुपर्ने अवस्था आएको देखिन्छ । के यी मधेस केन्द्रित पार्टीहरु विस्थापित भएर मधेसको विकास हुन्छ त ? यो ज्यादै नै चिन्तनको विषय हुुन पुगेको छ । त्यसकारण मधेसी जनताले प्रत्यक्ष रुपमा आफ्नो मत जहाँ दिए पनि समानुपातिक मत मधेस केन्द्रित दलहरुलाई नै दिनु पर्छ ।