
जाडोमा धेरैलाई रुघाखोकीले सताइरहेको हुन्छ । रुघाखोकी लाग्नासाथ हामी औषधि किन्न हतारिहन्छौं । जबकि हाम्रो घर(आँगन, भान्सामा उपलब्ध वनस्पति, मरमसलाबाट रुघाखोकी सजिलै निको हुन्छ । यस किमिसको ओखती बनाउन धेरै खर्च गर्नुपर्दैन । अस्पताल पनि धाउनुपर्दैन । त्यसमाथि शरीरलाई नकारात्मक असर गर्ने भय पनि हुँदैन । बरु रोगप्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।
शरीरलाई न्यानो बनाउने झोलयुक्त खानेकुरा खानु जरुरी हुन्छ । यस्तो खानाले शरीरलाई पर्याप्त पोषण पनि मिल्छ । गेडागुडीको झोल वा मासुको सुप खान उपयुक्त हुन्छ । साना बच्चा, बुढापाका, रोगी एवं सुत्केरीलाई यसबेला अरु बढी ख्याल गर्नुपर्छ । रुघाखोकी लागेमा केही यस्ता घरेलु ओखती प्रयोग गर्न सकिन्छ, जो निकै प्रभावकारी पनि हुन्छ ।
तुलसीको पात, मरिच, अदुवा, दालचिनी एकसाथ उमालेर पिउँदा रुघाखोकी निको हुन्छ । यसमा थोरै सक्खर मिसाउन सकिन्छ । यसैगरी मरिच, दालचिनी, अदुवामा बेसार मिसाएर उमालेको पानी पनि यसबेला निकै प्रभावकारी हुन्छ ।
तातो पानीमा एक चम्चा मह, थोरै सुकुमेलको धुलो मिश्रण गर्ने र त्यसमा कागतीको रस मिसाउनुपर्छ । यस्तो रस दिनमा दुई पटक पिउँदा लाभलायक हुन्छ ।
तातो दूधमा बेसार मिसाएर पिउँदा पनि रुघाखोकीबाट छुटकारा पाउन सकिन्छ । थोरै ज्वानो पानीमा अदुवा र बेसार मिसाएर राम्ररी उमाल्नुपर्छ । त्यो पानी पिउँदा रुघाखोकीमा आराम मिल्छ । एक गिलास तातो पानीमा एक चम्चा तोरीको गेडा उमाल्नुपर्छ । पानी राम्रोसँग उमालेपछि पिउनुपर्छ । तोरीको दानामा पाइने सल्फरले जमेको खकारलाई बाहिर निकाल्न मद्दत गर्छ । यतिबेला बदामको सिजन पनि हो । एक मुठी बदामलाई रातभर पानीमा भिजाएर राख्ने । बिहान त्यसलाई पिसेर तातो पानीसँग खानु उपयुक्त हुन्छ ।