प्रादेशिक अस्पतालको गुुणस्तरमा सुधार गर – Jaleshwortoday

प्रादेशिक अस्पतालको गुुणस्तरमा सुधार गर

 १५ मंसिर २०७९, बिहीबार २१:५३  
Jaleshwor Today Editorial

जनकपुरधाम प्रादेशिक अस्पतालको बारेमा जनगुनासो बढेको छ । यहाँ समय—समयमा विभिन्न वर्ग तथा स्तरका मान्छेहरुसँग विरामीलाई सहि उपचार नगरेर अनावश्यक रुपमा रोग बढाउने काम मात्र भएको विगतको घटनाबाट प्रमाणित भएको छ ।
कुनै पनि विरामी भर्ना गरिसके पछि प्र्रारम्भिक चाँच गरी मात्र आवश्यक उपचारको प्रक्रिया अगाडी बढाउनुपर्ने हुन्छ । तर यस अस्पतालमा विगतमा शल्यक्रिया गर्नुपूर्व आवश्यक जाँच गर्नु पर्ने आवश्यकताबारे पहल गरिदैन । वास्तवमा यो ड्युटिमा रहेको चिकित्सकको हदैसम्मको लापरबाही हो भने त्यहाँको मेसु माथि समेत प्रश्न उठ्न जान्छ । यस्ता चिकित्सकहरु तथा वर्तमान मेसुलाई सम्बन्धीत सरोकारबालाहरुले समयमै हदैसम्मको कारबाही अगाडी बढाउनु पर्ने आवश्यकता रहेको देखिन्छ । किनभने यिनीहरुको यस्तो सानो गल्तीले विरामीले ज्यान समेत गुमाउनु पर्ने हुन्छ । यस्ता घट्नाहरुले समान्य परिवारको त विचल्ली नै हुन्छ ।
विरामीले चिकित्सकलाई भगवान सरह नै सम्मान गर्दछ । त्यसैगरी चिकित्सकले पनि विरामीलाई आफ्नो परिवारको मान्छे वा भक्त झै व्यवहार गर्नु पर्दछ । तर व्यवहारमा त्यस्तो पाइएको छैन । जनकपुरधाम प्रादेशिक अस्पतालमा व्यवस्थापकियदेखि चिकित्सकीय व्यवस्थापन तथा उपचारमा व्यापक समस्याहरु तथा जनगुनासो देखिएकोले यसको समाधान तथा सबल व्यवस्थापन गर्न तथा गराउनु पर्ने सम्बन्धीत सरोकारबालाहरुको चुनौति रहेको देखिन्छ ।
मधेस प्रदेशको शानको रुपमा रहेका जनकपुरधाम प्रादेशिक अस्पतालको नाम सुनेर यस प्रदेशकै विरामीहरुको चाप अत्यधिक बढेको देखिन्छ । यस परिवेशमा यस अस्पतालको राम्रो व्यवस्थापनको लागि दक्ष चिकित्सकहरुलाई सेवामा लगाउन आवश्यक रहेको देखिन्छ ।
त्यसैगरी महोत्तरी जिल्लाको जलेश्वर प्रादेशिक अस्पतालको समेत गुणस्तर दिन प्रति दिन खस्किदै गएकोले यसको व्यवस्थापनमा सबैले ध्यान दिनु आवश्यक रहेको देखिन्छ ।