विज्ञान शिक्षामा जोड देऊ – Jaleshwortoday

विज्ञान शिक्षामा जोड देऊ

 १७ मंसिर २०७९, शनिबार २३:५६  
Jaleshwor Today Editorial

महोत्तरी जिल्लामा वर्तमान अवस्थासम्म विज्ञान संकायका शिक्षालयहरुमा कमी देखिएका छन् । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमै नीजि तथा अद्र्धसरकारी क्याम्पस भए पनि विज्ञान संकायको अध्ययन अध्यापन कुनै पनि क्याम्पसमा अहिलेसम्म संचालन भएको छैन । शिक्षा क्षेत्रमा विभिन्न स्थानिय निकायहरुले लाखौ खर्चे पनि विज्ञान शिक्षाको पहँुचमा तीनै तहको सरकार मध्ये अहिलेसम्म कुनै पनि सरकारले पहल गर्न नसकेको अवस्था छ । केहि सरकारी विद्यालयहरुमा प्राविधिक शिक्षाको अध्यापन गराईए पनि सरकारी स्तरबाट पनि विज्ञान संकायको संचालन गर्न सकिएको छैन । जिल्लामा एक दुई ठाउँमा विज्ञान संकाय संचालनमा आए पनि गुणस्तरीय व्यवस्थापन र दक्ष शिक्षकको अभावको कारण अन्य जिल्लामा गएर पढन बाध्य भएको दुखेसो यस जिल्लाको विद्यार्थीहरुको रहेको छ ।
शिक्षा तथा व्यवस्थापन संकायको पढाई संचालन भए पनि यस जिल्ला दक्ष शिक्षक तथा राम्रो व्यवस्थापनको कमी यथावत छ । यस परिवेशमा जवसम्म नीजि स्तर र सरकारी स्तरबाट पहल गरिदैन तबसम्म यस जिल्लामा विज्ञान शिक्षामा कमी रहेन देखिन्छ । सामाजिक रुपान्तरणको लागि सबै संकायको शिक्षाको उतिकै महत्व रहेको छ । त्यसकारण अहिले हाम्रो समाजमा सबै क्षेत्रका दक्ष व्यक्तिहरुको खाँचो तथा महत्व उत्तिकै रहेको छ । शिक्षाको विकास विना कुनै पनि क्षेत्र वा जिल्लाको विकास असम्भव हुन्छ । त्यसकारण समावेशी तथा आधुनिक समाज निर्माणको लागि र बढदो चुनौतिहरुको सामना तथा समाधानको लागि पनि यस जिल्लामा विद्यालय तथा विश्वविद्यालय वा क्याम्पसको स्थापना तथा संचालनमा सम्बन्धित सरोकारबालाहरुले समयमै ध्यान दिन आवश्यक रहेको छ ।