समानूपातिक सूची पठाउन राजनीतिक दलहरुलाई २४ गतेसम्मको समय सीमा – Jaleshwortoday

समानूपातिक सूची पठाउन राजनीतिक दलहरुलाई २४ गतेसम्मको समय सीमा

 २२ मंसिर २०७९, बिहीबार २३:३३  
nn

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २२ मंसिर

निर्वाचन आयोगले राजनीतिक दलहरूसँग समानुपातिक तर्फबाट सांसद बन्ने उम्मेदवारहरूको नामावली मागेको छ । बिहीबार आयोगले समानुपातिक तर्फबाट उम्मेदवार निर्वाचित गराउनका लागि राजनीतिक दलहरुलाई पत्राचार गरेको हो । समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवार मध्येबाट समानुपातिक समावेशी सिद्धान्त बमोजिम प्राथमिकता क्रमको आधारमा उम्मेदवारको नाम सिफारिस गरि पठाउन पत्राचार गरिएको आयोगको समानुपातिक तर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले​ रातोपाटीलाई जानकारी दिए ।  राजनीतिक दलको केन्द्रीय समिति वा सो सरहको समितिले बन्दसूचीबाट उम्मेदवारको नाम सिफारिस गरेर  पठाउन पत्राचार गरिएको  उनले बताए । दलहरूले यही मंसिर २४ गतेसम्म आयोगले मागे अनुसारको विवरण पठाउनुपर्नेछ । समानुपातिक तर्फ ३ प्रतिशत थ्रेस होल्ड कटाएर समानुपातिक तर्फ सिट पाएका दलहरुलाई सो सिटमा उम्मेदवार निर्वाचित गर्न यसअघि बुझाएको बन्दसूचीबाट नाम छनौट गरेर पठाउन पत्राचार गरिएको हो ।  दलहरूले आफूले पाएको समानुपातिक सिटमा विभिन्न समानुपातिक समावेशी क्लष्टरबाट प्रतिनिधित्व हुनेगरी उम्मेदवार छानेर आयोगमा पठाउनुपर्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । आयोगबाट अधिकांश राजनीतिक दलले सो बारेको पत्र बुझेका छन् ।   राजनीतिक दलबाट विवरण प्राप्त भएपछि त्यसको रुजु गरिने र विवरण नमिलाइ पठाएको खण्डमा फेरी २ दिनभित्र विवरण बुझाउनका लागि पत्राचार गरिने प्रवक्ता वाग्ले जानकारी दिए । अबको एक साताभित्र राजनीतिक दलहरूका समानुपातिक तर्फका सांसदहरु निर्वाचित हुने उनले बताए ।

राजनीतिक दलहरूले महिला, आदिवासी जनजाति, खसआर्य, थारू, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्रको प्रतिनिधित्व हुनेगरी यसअघि आयोगमा बुझाएको बन्दसूचीबाट छनौट गर्नुपर्ने हुन्छ ।