राकेश प्रसाद चौधरी
महोत्तरी, २८ मंसिर
जलेश्वर नगरपालिका कार्यालयबाट सेवानिवृत भएका १२ जना कर्मचारी एक कार्यक्रममा सम्मानित भएका छन् ।
नगर कार्यपलिकाको कार्यालय जलेश्वरमा आयोजित सम्मान तथा चेक बितरण कार्यक्रममा नगर प्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन खातुन लगायतले सेवा निवृत कर्मचारीहरुलाई दोसल्ला ओढाई मायाको चिनो प्रदान गरेका छन् । सोही अवसरमा सेवा निवृत कर्मचारीहरू कलिमुद्धिन अंसारी,महेन्द्र बरही,उपेन्द्र मिश्र,सुरेश झा,बिकु कापर,महेश्वर मिश्र,भोला दास,नरेश प्रसाद चौधरी,राम रतन महतो,आशा देवी मेस्तर,प्रमिला मेस्तर र महेन्द्र मेस्तरलाई उपदान वापतको रकमको चेक प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रविण कुमार झाले बताए । जलेश्वर नगरपालिका कार्यालयमा स्रोतको कमी रहेको कारण सेवानिवृत कर्मचारीहरूलाई किस्ताबन्दीमा उपदान वापतको रकम वितरण हुँदै आएको छ । २०३९ साल बैशाख १५ गते आदर्श गाउँ पञ्चायतबाट जलेश्वर नगरमा परिणत भएको हो । नगरप्रमुख सोनारले सेवानिवृत कर्मचारीको उपदान वापतको बाँकि बक्यौता रकम भुक्तानी गर्ने प्रतिबद्धता अनुरूप प्राथमिकताका साथ यो काम गर्न पाएकोमा खुशी ब्यक्त गरे । उनले आफ्नो कार्यकालमा कुनै सेवा निवृत कर्मचारीले उपदान वापतको रकमका लागि धेरै बर्षसम्म पर्खनु नपर्ने तयारी गरिरहेको बताए । सम्मानित हुने सेवा निवृत कर्मचारी मध्ये उपेन्द्र मिश्रले ढिलै भए पनि उपदान वापतको रकम उपलब्ध भएकोमा धन्यवाद ब्यक्त गर्दै सिमित स्रोत साधन हुँदा मेहनतका साथ नगरपालिकाको बिकासमा खटेका कर्मचारीको योगदान अविस्मरणीय भएको बताए ।