जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ११ कार्तिक
सोनमा गाउँपालिकामा अस्पताल भवनको शिलान्यास गरिएको छ । सोनमा गाउँपालिका वडा नं २ मा निर्माण हुन लागेको उक्त अस्पताल भवनको शिलान्यास महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ का सांसद डा. सुरेन्द्र यादवले सोमवार गरेका हुन् । आफू स्वास्थ्य राज्यमन्त्री हुँदा नै सोनमा गाउँपालिका वडा नम्बर २ तरहारीमा अस्पताल निर्माण गर्न घोषणा गरे अनुरुप अस्पताल निर्माण गर्न लागेको डा. यादवले बताए । खासगरी सोनमा गाउँपालिकामा भरपर्दाे , सुविधायुक्त अस्पताल नहुदा गाउँपालिकामा रहेका निम्न स्तरका जनतालाई उपचार गराउन समस्या हुँदै आएकाले सुविधायुक्त अस्पतालको निर्माण गर्न लागेको सांसद यादवले बताए । अस्पताल निर्माण पछि यस गाउँपालिका सहित आसपास क्षेत्रका जनतलाई स्वास्थ लाभ लिन सहज हुने सोनमा गाउँपालिकाका अध्यक्ष राजकुमार यादवले बताए । अस्पताल निर्माणकालागि सोनमा गाउँपालिका वडा नम्बर २ तरहारी कै स्थानिय राम प्रताप यादवले १४ कट्ठा जग्गा दानमा उपलब्ध गराएको सोनमा गाउँपालिकाका प्रवक्ता अशोक कुमार यादवले जनाए ।