वित्तीय साक्षरता ५८ प्रतिशत – Jaleshwortoday

वित्तीय साक्षरता ५८ प्रतिशत

 ७ पुष २०७९, बिहीबार २२:५१  
gg

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ७ पौष

समग्र राष्ट्रिय स्तरमा वित्तीय साक्षरता ५७.९ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय साक्षरता आधार सर्वेाक्षणमा महिला भन्दा पुरुषको वित्तीय साक्षरता अंक बढी रहेको छ ।

पुरुषको वित्तीय साक्षरता अंक ६१.८ प्रतिशत पाइएको राष्ट्र बैंकको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । महिलाको तुलनामा पुरुषको साक्षरता ७.५ प्रतिशतले बढी रहेको केन्द्रीय बैंकले जनाएको छ ।

वित्तीय साक्षरताको तीन आयामको रुपमा रहेको वित्तीय ज्ञान ४७.३ प्रतिशत, वित्तीय व्यवहार ६३.५ प्रतिशत र वित्तीय मनोवृत्ति ६२.९ प्रतिशत रहेको पाइएको केन्द्रीय सर्वोक्षण प्रतिवेदनमा उल्लेख छ । वयस्क जनसंख्याको २७.५ प्रतिशतले मात्र वित्तीय साक्षरताका तिनै आयामहरूमा न्यूनतम अंक प्राप्त गरेका छन् । वित्तीय ज्ञानमा ३६.५ प्रतिशत वयस्क जनसंख्या, वित्तीय व्यवहारमा ५६.६ प्रतिशत र वित्तीय मनोवृत्तिमा ९५.४ प्रतिशत वयस्क मानिसहरुले न्यूनतम अंक प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ ।

पुरुषको वित्तीय ज्ञानमा अंक ५६.५ प्रतिशत रहेको जनाएके छ । जुन महिलाको तुलनामा १७.९ प्रतिशतले बढी रहेको उल्लेख छ । वित्तीय ज्ञानमा लैंगिक भिन्नता सबै प्रदेशमा रहेको पाइएको छ ।

वित्तीय साक्षरतामा सबैभन्दा बढी अंक बागमती प्रदेशको ६४.५ प्रतिशत पाइएको केन्द्रीय बैंकको सर्वेक्षणमा उल्लेख छ । मधेस प्रदेशले सबैभन्दा कम ५२ प्रतिशत रहेको छ । वित्तीय साक्षरता अंकमा भिन्नता हुनुको प्रमुख कारक तत्व प्रदेशहरू बीचमा वित्तीय ज्ञानमा रहेको भिन्नता देखिएको उल्लेख छ । वित्तीय व्यवहारको र वित्तीय मनोवृत्तिको अंक भने सबै प्रदेशहरूमा लगभग समान रहेको सर्वेणक्षमा देखिन्छ ।

युवा पुस्ताहरु वित्तीय साक्षरता र यसका आयामहरु सबैमा अगाडि रहेका छन् । खासगरी वित्तीय ज्ञानमा युवा पुस्ताहरु बढी अगाडि देखिएका छन् । १८–३० वर्षका मानिसरुको वित्तीय साक्षरता अंक ६३.२ प्रतिशत रहेको केन्द्रीय बैंक्को सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । ६० वर्ष काटेकाहरुको वित्तीय साक्षरता २७.९ प्रतिशत मात्रै पाइएको छ । त्यस्तै शिक्षाको तह बढ्दै जाँदा पनि वित्तीय साक्षरता बढ्दै गएको छ ।

रोजगार, औपचारिक क्षेत्रमा काम गर्ने व्यक्ति, उच्च सीप चाहिने पेशा र कृषि क्षेत्र भन्दा बाहेकका औद्योगिक क्षेत्रमा काम गर्ने व्यक्तिको वित्तीय साक्षरता तुलनात्मक रुपमा धेरै रहेको देखिन्छ ।

वित्तीय समावेशिताको स्थिति आकलन गर्न वित्तीय उपकरणहरुको प्रयोगलाई हेरिएको प्रतिवेदनमा उल्लेख छ। सर्वेक्षण अनुसार वयस्क जनसंख्याको वित्तीय प्रयोगका सूचकहरूमा ७३.७८ प्रतिशतले भुक्तानी उपकरण, ८६.६४ प्रतिशतले बचत, लगानी वा अवकाश उपकरण, ३०.०२ प्रतिशतले बीमा सेवा र ४६.३४ प्रतिशत ऋण उपकरण प्रयोग गरेको पाइएको छ । बचत उपकरणहरू मध्ये ७१.०६ प्रतिशत वयस्क जनसंख्याले बचत खाताको प्रयोग गरेको पाइएको छ भने लगानी कोष सबैभन्दा कम प्रतिशत जनसंख्याले प्रयोग गरेका छन । वयस्क जनसंख्याको ८.४६ प्रतिशतले निर्जीवन बीमा उपकरणहरू प्रयोग गरेका छन् भने २६.७८ प्रतिशतले जीवन बीमा उपकरणहरू प्रयोग गरेका छन्। लगभग दुई तिहाइ वयस्क जनसंख्या कम्तिमा ५ किसिमका वित्तीय उपकरणबारे सचेत छन्।

अझै पनि ७१.८३ प्रतिशत वयस्क जनसंख्या आफ्नो आर्थिक आवश्यकता पुरा गर्न परिवार तथा साथीभाइमा बचत वा ऋणको लागि निर्भर रहेको सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षण अनुसार वित्तीय प्रयोगका प्रायः सबै सूचकमा तुलनात्मक रुपमा बागमती प्रदेशमा जनसंख्याको सबैभन्दा बढी हिस्साले र मधेस प्रदेशमा सबैभन्दा कम हिस्साले प्रयोग गर्ने गरेका पाइएको प्रतिवेदनमा उल्लेख छ । भुक्तानी सेवाका प्रयोग सबैभन्दा बढी महानगरपालिकामा ९१.९ प्रतिशत वयस्क जनसंख्याले गर्ने गरेको पाइएको छ ।

कृषि, निर्माण र अन्य क्षेत्रहरूमा रहेका कामदारहरू कम प्रतिशतले भुक्तानी उपकरणको प्रयोग गर्छन्। अझै पनि ४५.५४ प्रतिशत मानिसहरु सामूहिक बचत ऋण प्रयोग गरिरहेका छन्। २३.९७ प्रतिशत वयस्क जनसंख्याले स्टक तथा सेयर राखेका सर्वेक्षण प्रतिवेदनले देखाएको छ ।

तुलनात्मक रुपमा युवा पुस्ताको उच हिस्साले बचत, लगानी उपकरणहरूको प्रयोग गर्ने गरेको पाइएको केन्द्रीय बैंकले जनाएको छ । अन्य क्षेत्रको तुलनामा कृषि र निर्माण क्षेत्रका मानिसहरुको थोरै हिस्साले मात्र बचत उपकरण प्रयोग गर्ने गरेको सर्वेक्षणले देखाउँछ ।

सर्वेक्षणमा ४६.३४ प्रतिशत वयस्क जनसंख्याले कर्जा प्रयोग गरेका छन भने जम्मा १७.६० प्रतिशतले मात्र बैक कर्जा उपयोग गरेका छन्। कृषि र निर्माण क्षेत्रका कामदारको सबैभन्दा कम हिस्साले बैंक कर्जा प्रयोग गरेका छन् भने होटल र रेष्टुरेन्टका कामदारको बढी हिस्साले सामूहिक बचत ऋणको प्रयोग गरेका छन् ।

राष्ट्रिय स्तरमा वयस्क जनसंख्याको २.३५ प्रतिशतले मात्र सरकारी सहुलियतपूर्ण कर्जाको प्रयोग गरेको सर्वेक्षणमा देखिन्छ । महानगर, कम उमेर समूह, उच्च स्तरको औपचारिक शिक्षा भएको जनसंख्या, स्वरोजगार र तलब तथा ज्यालादारी, औपचारिक क्षेत्रका कर्मचारी, उच्च सीप भएका जनशक्ति र उच्च आय समूहमा वित्तीय उपकरणहरूको प्रयोग गर्ने हिस्सा धेरै रहेको देखिन्छ ।

सर्वेक्षणका लागि २०७८ पुसमा संकलन भएको केन्द्रीय बैंकले जनाएको छ । अध्ययनका लागि देशभरिबाट १८ वर्ष माथिका कुल ९ हजार ३६१ नेपाली नागरिकहरुलाई छनोट गएको राष्ट्र बैंकले जनाएको छ । व्यक्ति चयनका लागि पहिलो चरणमा सम्पूर्ण ७७ जिल्ला, दोस्रो चरणमा जिल्ला भित्रका सबै प्रकारका स्थानीय तहहरु, तेस्रो चरणमा कम्तीमा एक स्थानीय तह, चौथो चरणमा कम्तिमा एक वडा र अन्यमा चयन गरिएको वडाको मतदाता सूचीबाट ‘सिस्टमेटिक र्‍यान्डम’ विधिबाट उत्तरदाताहरु छनोट गरिएको केन्द्रीय बैंकले जनाएको छ ।