खेलाडी अनुबन्धनमा आक्रामक संकटाको लिग जित्ने लक्ष्य – Jaleshwortoday

खेलाडी अनुबन्धनमा आक्रामक संकटाको लिग जित्ने लक्ष्य

 १३ पुष २०७९, बुधबार २०:५७  
aa

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १३ पौंष

संकटा क्लबले आसन्न शहीद स्मारक ए डिभिजन लिगलाई मध्यनजर गर्दै मंगलबार राष्ट्रिय टिमबाट खेलिसकेका ६ खेलाडी भित्र्याएर आक्रमक सुरुवात गरेको छ ।

सात दशक लामो इतिहास बोकेको र तीन पटक ए डिभिजन लिगको उपाधि जितिसकेको संकटाले चौथोपल्ट लिग च्याम्पियन बन्ने लक्ष्य लिएको छ ।

संकटाले पहिलो चरणमा राष्ट्रिय टिमका विंगरद्वय सुनिल बल र आयुष घलानसहित मिडफिल्डर सुरज जिउ ठकुरी, डिफेण्डर गौतम श्रेष्ठ र निशान खड्का तथा गोलकिपर टीकेन्द्र थापालाई अनुबन्धन गरेको हो ।

सुनिलले गत सिजन च्याम्पियन टिम मछिन्द्र फुटबल क्लबबाट खेलेका थिए भने आयुष र निशान थ्रीस्टारमा थिए ।

यस्तै सुरज र टिकेन्द्रले जावलाखेल युथ क्लबबाट खेलेका थिए । जावलाखेलकै पूर्व खेलाडी समेत रहेका गौतमले भने त्रिभुवन आर्मी फुटबल क्लबबाट पछिल्लो लिग खेलेका थिए ।