जलवायु परिवर्तनको असर र पानीको बजार – Jaleshwortoday

जलवायु परिवर्तनको असर र पानीको बजार

 १६ पुष २०७९, शनिबार २२:४६  
Rakesh_PC_Nepal

राकेश प्रसाद चौधरी
महोत्तरी, १६ पुष

जलवायु परिवर्तनको असर र चुरे क्षेत्रको खनिज र नदीजन्य पदार्थको दोहनले महोत्तरी जिल्लाको दक्षिणवर्ती क्षेत्रमा भूमिगत पानीको स्रोतमा ह्रास आउन थालेको छ । विभिन्न परिक्षणले जलेश्वरको पानी आर्सेनिकमुक्त रहेको देखिएपनि यस क्षेत्रमा प्लास्टिक बोतलमा उपलब्ध हुने पानीको माग बढ्न थालेको छ ।
जलेश्वर नगरपालिका कार्यालयमा युनिसेफ तथा नेपाल नगरपालिका संघको सहयोगमा पानी प्रयोगशाला स्थापना गरिएपनि सरोकारवालको बेवास्ताले क्रियाशिल हुन सकेको छैन । यस पालिकाभरिको बजारमा उपलब्ध हुने प्लास्टिक बोतल पानीको परिक्षण गरेर पिउन योग्य अथवा अयोग्य रहेको जानकारी नगरवासीलाई गराउन जलेश्वर नगरपालिका उदासिन देखिएको छ ।
सदरमुकाम जलेश्वरमा पहिला पहिला आर्सेनिकमुक्त शुद्ध पिउने पानी दुईसय फिटसम्मको जमिन मुनिबाट प्राप्त हुने गरेको थियो । स्थानीय सुरज साह भन्छन्,“अहिले शुद्ध पिउने पानीको लागि तीनसय फिटको हाराहारीमा पाइप हाल्नुपर्छ । चापाकल जडान गर्दा २० देखि ५० हजारसम्म खर्च लाग्छ ।”
जलेश्वरस्थित खानेपानी संस्थानले धारामार्फत पठाउने पानीमाथि विश्वास नरहेकोले खानेपानीमा प्रयोग गर्न असहज भइरहेको विश्वनाथ साह बताउँछन् । उनी भन्छन्,“कहिलेकाहीँ लेदो मिसिएको पानी आउँछ, गुनाँसो गर्न जाँदा जवाफ आउँदैन ।” पहिला पहिला चापाकलबाट निकालिने पिउने पानी प्रयोग भइरहेकोमा केही समयदेखि यस क्षेत्रमा प्लास्टिक बोतल र जारमा उपलब्ध हुने पानी पिउन प्रयोग हुन थालेको छ । प्रायजसोः पसलमा अहिले बोतलमा प्याक गरिएको पानी विक्री हुने गरेको छ ।
यस क्षेत्रमा रहेका होटलमा मात्र नभई विभिन्न उत्सव तथा भोजभतेरमा समेत अहिले बोतल र जारको पानी प्रयोग हुने गरेको काजल ठाकुर बताउँछिन् । घरमा चापाकलबाट विद्युतीय मोटरमार्फत संकलन गरिने खानेपानी प्रयोग गर्ने गरिएपनि अन्यत्र जाँदा बोतलको पानी नै प्रयाग गर्ने गरिएको उनी बताउँछिन् । जलेश्वर नगरपालिका क्षेत्रभरमा दिनहुँ बिक्री हुने पानीको परिणाम उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, उपभोक्ता संरक्षण समिति लगायतका कुनै पनि संघ संस्थाले हालसम्म सार्वजनिक गर्न सकेको छैन ।
जलवायु परिवर्तनले एकातर्फ जलेश्वरमा खानेपानीको सतह दिन प्रतिदिन तल जान थालेको छ भने अर्कोतर्फ बोतलमा पाइने खानेपानीको बजार बढ्न थालेको छ । जनकपुरलगायतको क्षेत्रबाट दिनहुँ विभिन्न ब्राण्डको पानीको बोतल टेम्पु, मिनी ट्रकलगायतका सवारीसाधनबाट पसल पसलमा पु¥याउने गरेको दृश्य देखिने गरिन्छ ।
जलेश्वरमा जनकपुरलगायतको क्षेत्रबाट स्वदेशी पानीको बोतल भित्रिन्छ भने सोही मात्रामा दैनिक खाली प्लास्टिको बोतल भारतीय क्षेत्रमा संकलकहरूले पठाउने गर्छन् । भारत विहार राज्यको सुरसण्डबाट शोभित मण्डलको टोली ठेलागाडा लिएर कवाडा सामान खरिद गर्न जलेश्वर आउँदा कहिलेकाहीँ खाली प्लास्टिकको बोतल समेत किनेर लग्ने गरेको बताउँछन् । उनी भन्छन्,“प्रति किलोग्राम १५ रूपैयामा प्लास्टिको बोतल किनेर सुरसण्डको कवाडामा केही नाफा लिएर बेच्ने गरेको छु ।”
भारतको सुरसण्डबाट मात्र नभई सीमावर्ती भिठ्ठालगायतको ठाउँबाट समेत दिनहुँ बालकदेखि बृद्धसम्म खाली बोतल संकलन गर्न जलेश्वर आउने गरेको प्रत्यक्षदर्शीहरू बताउँछन् । संकलन गरिएको प्लास्टिक बोतलको मूल्य सुरसण्डमा प्रति किलोग्राम भारतीय १५ रूपैयामा बिक्री हुने गरेको नाम नबताउने शर्तमा एकजना प्लास्टिकबोतल संकलक बालकले बताए ।
दिनभर नगरपालिका क्षेत्रबाट संकलन गरिने फोहरमा कुन कुन प्रकृतिका कति प्रतिशत रहेको तथ्यांक जलेश्वर नगरपालिका कार्यालयमा छैन । यस नगरपालिकामा वातावरण तथा सरसफाई शाखा नरहेपनि एकजना कर्मचारी फोहर ब्यबस्थानको इन्चार्ज बनाइएको छ । जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनारले हाल वातावरण तथा सरसफाईको छुट्टै शाखा नरहेको स्विकार गर्छन् ।
नेपाल नगरपालिका संघका अकवर अंसारी भन्छन्,“पानी प्रयोगशाला स्थापनाको उद्देश्य जुनसुकै उपभोक्ताले पिइरहेको पानीको शुद्धता जाँच गराउन मद्दत पुगोस भन्ने हो । यदी नगरपालिकाले आफ्नो क्षेत्रमा बिक्री बितरण हुने प्लास्टिक बोतल र जारमा उपलब्ध हुने पानीको शुद्धता जाँच गरेर नगरवासीलाई जानकारी गराउन भूमिका खेल्नुपर्छ ।”