
जलेश्वरटुडे समाचारदाता
धनुषा, १६ पौंष
काठमाडौँमा जारी नेपाल टी–२० मा जनकपुर रोयल्स ४९ रनले विजयी भएको छ ।समिउल्लाह शिनवारीको अविजित ७८ रनको पारीले जनकुपर रोयल्स विराटनगर सुपर किङ्ग्सलाई ४९ रनले पराजित गरेको हो । शनिबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जनकपुरले निर्धारित ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८९ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले २० ओभरमा सात विकेट गुमाएर एक सय ४० रन मात्रै बनाउन सक्यो। विराटनगरका लागि ओपनर गौरान्सु शर्माले ३३ रनको योगदान गरे। त्यस्तै, हुसेन तलत ४२ रन जोडेर पेभेलियन फर्किँदा प्रदीप ऐरी ३६ रनमा अविजित रहे। जनकपुरका लागि शिनवारीले सर्वाधिक तीन तथा ललित राजवंशीले दुई विकेट लिए। पहिलो इनिङमा जनकपुरका लागि शिनवारीले ४० बलको सामना गर्दै ६ चौका र ६ छक्कासहित अविजित ७८ रनको अर्धशतकीय इनिङ खेलेका थिए। यस्तै, चाडविक वाल्टनले २९ र कप्तान ट्रेभोन ग्रिफिथले १९ बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन्। बलिङतर्फ विराटनगरका सूर्य तामाङ र हुसेन तलतले दुई–दुई तथा नन्दन यादवले एक विकेट लिए जनकपुर पाँच खेलबाट आठ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। यस्तै, पाँच खेल खेलेका विराटनगर चार अंकसहित चौथो स्थानमा छ।