प्रदेश २ मा शौचालयको अभावमा बलात्कारका घटना बढ्दैं – Jaleshwortoday

प्रदेश २ मा शौचालयको अभावमा बलात्कारका घटना बढ्दैं

 १२ कार्तिक २०७७, बुधबार २१:४५  
Rape

जलेश्वरटुडे समाचारदाता
सप्तरी, १२ कार्तिक

एकातिर शहर र राजमार्गमा सार्वजनिक शौचालय नहुँदा बटुवा र यात्रुले चर्को समस्या झेल्नु परेको छ भने अर्कातिर ग्रामीण भेगमा किशोरीहरू बलात्कृत भइरहेका छन् । सप्तरीमा शौच गर्न गएकी एक दलित किशोरी शनिबार राति बलात्कृत भएकी छिन् भने अर्की एक किशोरीमाथि बलात्कारको प्रयास भएको छ । घर नजिकैको बाँसघारीमा शौच गर्न गएकी दुवै किशोरीलाई तिरहुत गाउँपालिका–३ का दुई युवकले घरभन्दा करिब ४ सय मिटर टाढा लगेर दुष्कार्य गरेको पीडितहरूले बताएका छन् । दुईमध्ये १७ वर्षीया किशोरी बलात्कारबाट पीडित भएको र १९ वर्षीया किशोरीमाथि बलात्कार प्रयास भएको इलाका प्रहरी कार्यालय कञ्चनरूप, सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । सिंहका अनुसार आरोपितमध्ये सुनील पक्राउ परेका छन् भने ज्ञानु फरार छन् । पीडित १७ वर्षीया किशोरीकी आमा र पीडित १९ वर्षीया किशोरीकी लिखित उजूरी दिएका छन् । दसैंको बिदालगत्तै सप्तरी जिल्ला अदालत खुलेपछि आरोपितविरुद्ध म्याद थप गरिने प्रनाउ सिंहले बताए । यसअघि पनि सप्तरीको बलान बिहुँल गाउँपालिकामा शौच गर्न गएकी १७ वर्षीया सुस्त मनस्थितिकी किशोरीमाथि सामूहिक बलात्कार घटनाको उजुरी दर्ता छ । गत भदौ २७ गते राति भएको बलात्कार घटनाको उजुरी इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीमा दर्ता भएपनि हालसम्म कोही पक्राउ परेका छैनन् । प्रदेश २ कै दोस्रो खुला दिसामुक्त सप्तरी जिल्ला २१ चैत, २०७४ मा खुला दिसामुक्त जिल्ला घोषणा भएको हो । सप्तरीको शहरी क्षेत्रमा सार्वजनिक शौचालय भेट्नै मुस्किल पर्छ भने ग्रामीण भेगमा शौचालय व्यवस्थापनको समस्या थपिँदो छ । मनोविमर्शकर्ता रञ्जना चौधरीले शौचालयको अभावमा गाउँघरमा महिला रातको अध्यारोको समयमा शौच जाने गरेको र यौन दुर्व्यवहार तथा बलात्कारमा पर्ने गरेको बताए ।