महिन्द्रलाई मन्त्री बनाउन बाबुरामको दौडधुप – Jaleshwortoday

महिन्द्रलाई मन्त्री बनाउन बाबुरामको दौडधुप

 २१ पुष २०७९, बिहीबार २१:००  
kk

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २१ पौंष

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यसपटक सरकारमा आफ्नो पार्टी माओवादी केन्द्रबाट नयाँ सांसदलाई अवसर दिने मनस्थितिमा छन् । उनले पार्टीका पदाधिकारी र आकांक्षी नेताहरूलाई समेत युवा र सक्षम व्यक्तिलाई सरकारमा लैजाने बताइरहेका छन् ।

माओवादी केन्द्रमा अब थपिने मन्त्रीको सूचीमा पार्टीका युवा सांसदहरू सुदन किराती, माधव सापकोटा, अमनलाल मोदी, रेखा शर्मा, हितबहादुर तामाङको चर्चा भइरहेको छ । यससँगै नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादव पनि उक्त सूचीमा छन् ।

नेसपासँग पार्टी एकताको विषय अघि बढेसँगै यादवलाई मन्त्री बनाउन उक्त पार्टीका अर्का अध्यक्ष बाबुराम भट्टराईले दौडधुप थालेका छन् । त्यसका लागि भट्टराईले सत्ता गठबन्धन दलका सबै शीर्ष नेताहरूलाई भेटेर मनाउने प्रयास गरिसकेका छन् ।

यसै विषयमा छलफल गर्न भट्टराई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए । भट्टराईको सचिवालयले ओलीसँगको भेटमा सत्ता गठबन्धन र वर्तमान राजनीतिक परिदृश्यबारे छलफल भएको जनाएको छ । तर बालकोट निकट स्रोतका अनुसार भट्टराईले आफ्नो पार्टीका अर्का अध्यक्ष यादवलाई मन्त्रिपरिषदमा लैजाने विषयमा छलफल गरेका थिए ।

उनको प्रस्तावमा एमाले अध्यक्ष ओलीले सकारात्मक भएको तर धेरै दलका आकांक्षी समेट्नुपर्ने भएकाले कसरी समाधान गर्ने भनेर छलफल गर्नुपर्ने बताएका थिए ।

‘यादव उहाँको पार्टीबाट निर्वाचन जितेका एकजना मात्रै सांसद हुनुहुन्छ । उहाँलाई पनि सरकारमा सामेल गराउनुपर्‍यो भन्ने भट्टराईजीको प्रस्ताव थियो’, एक नेताले भने, ‘माओवादीको चुनाव चिह्न लिएर चुनाव लडेकाले सोही पार्टीको भागबाट मन्त्री बनाउँदा सबैलाई समेट्न सजिलो हुन्छ भन्ने अध्यक्षको सुझाव छ । तर त्यसै कारण उहाँलाई मन्त्री नबनाउने भन्ने हुँदैन होला ।’