
आइतबार यति एयरलाइन्सको एटीआर ७२ विमान काठमाडौंबाट १०ः३२ बजे उडी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको आदेश पाइसकेपछि अचानक दुर्घटना भएको थियो । सो विमानमा ६८ जना यात्रु सहित ४ जना चालक सदस्यहरु समेतले ज्यान गुमाएको पुष्टि भएको छ भने अन्यको खोजी भइरेहेको स्रोतले जनाएको छ । नेपालको अहिलेसम्मकै ठूलो विमान दुर्घटना रहेको बुझिएको छ । यसले समस्त नेपालीलाई रुवाएको छ भने चिन्ता र त्रास समेत बढाएको देखिन्छ । नेपाल सरकारको गृह मन्त्रालयले देशमा भएको यो ठूलो तथा अपूर्णीय क्षतिलाई ध्यान दिदै सोमबार राष्ट्रिय झण्डा झुकाउने तथा शोक विदा दिने निर्णय गरेको छ ।
हामी जलेश्वर टुडे दैनिक पत्रिका र जलेश्वर टुडे डट कम परिवार यस घटनामा परि ज्यान गुमाएको प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । साथै बेपता भएकाहरुका शिघ्र पत्ता लागोस् भनि पशुपतिनाथसँग प्रार्थना गर्दछौं । शोकाकुल परिवारहरु प्रति भगवानले धैर्य धारण गर्ने दह्रो क्षमता प्रदान गरुन भनी कामना गर्दछौं । वास्तवमा यो हाम्रो लागि एकदमै पाठ शिकाउने घटना रहेको छ । यस घटनाको राम्रोसँग छानबिन हुन जरुरी छ । त्रुटी देखिएको क्षेत्रमा हदैसम्म सुधार गर्न आवश्यक छ । अहिले सामाजिक संजालमा धेरै नकारात्मक तथा सकारात्मक कुराहरु आईरहेको बेलामा नेपाल सरकारले समेत ध्यान दिन जरुरी छ । आम जनताको बुझाईलाई पनि कदर गर्न जरुरी छ । झन् उपप्रधान तथा गृह मन्त्री रहेको रवि लामिछानेले पनि यस विषयमा गहन निर्देशन गर्न जरुरी रहेको देखिन्छ । जहिले पनि पुरानो विमानको यात्रा,अपरिपक्व चालक र जनताको सुरक्षालाई ध्यान नदिने व्यवस्थालाई परिवर्तन गर्न जरुरी छ । थोरै विमान होस् तर सुरक्षित होस् र हाम्रो विमान राम्रो विमान होस् भनी सोचबाट अघि बढन आवश्यक देखिन्छ ।