जलेश्वर नगरपालिकाः वडाध्यक्ष विद्यालयको अध्यक्ष बन्दा पनि सुध्रिएनन् विद्यालय – Jaleshwortoday

जलेश्वर नगरपालिकाः वडाध्यक्ष विद्यालयको अध्यक्ष बन्दा पनि सुध्रिएनन् विद्यालय

 ५ माघ २०७९, बिहीबार २१:१०  
66

राकेश प्रसाद चौधरी
महोत्तरी, ५ माघ

जलेश्वर नगरपालिकामा नवनिर्वाचित पदाधिकारीले कार्यभार सम्हालेको ८ महिना हुन लाग्दा समेत शैक्षिक अवस्था सुधारको पहल थालिएको छैन । केही विद्यालयमा अझैसम्म विद्यालय ब्यबस्थापन गठन भएको छैन ।
जलेश्वर नगरपालिकामा १ नमूना माध्यमिक विद्यालय, ९ माध्यमिक विद्यालय तथा १९ वटा आधारभूत सामुदायिक विद्यालय छन् । यसमध्ये ५ वटामा वडाअध्यक्ष स्वयम् तथा ९ वटामा वडाअध्यक्षले रोजेका ब्यक्ति ब्यबस्थापन समितिका अध्यक्ष छन् । त्यही १४ वटा विद्यालयमा समिति गठन हुने क्रममा छ । पालिकाको शिक्षा ऐनले वडाअध्यक्ष वा निजले रोजेकोे ब्यक्ति विद्यालय ब्यबस्थापन समिति अध्यक्ष हुने प्रावधान राखेकोमा जलेश्वर नगरपालिकामा दुई खालका अभ्यास देखिएको छ । केही विद्यालयमा वडाअध्यक्ष स्वयं तथा केहीमा वडाअध्यक्षले रोजेको ब्यक्तिलाई अध्यक्ष बनाइएको छ । ऐनमा वडाअध्यक्षले रोजेको ब्यक्ति अध्यक्ष हुनका लागि अभिभावक नै हुनुपर्ने प्रावधान राखेको छैन । एकजना महिलासहित ४ जना सदस्यमा अभिभावक, शिक्षाप्रेमी, चन्दादाता वा संस्थापकमध्येबाट मनोनित गर्न सक्ने ब्यबस्था छ । विद्यालय ब्यबस्थापन समितिको कार्यकाल ३ बर्षको हुने प्रावधान छ ।

No description available.
नवनिर्वाचित नगर प्रमुख सुरेश साह सोनार निर्वाचन अगावैसम्म वडाअध्यक्षले रोजेको ब्यक्तिको हैसियतमा जलेश्वर–१ स्थित महेन्द्र आदर्श माध्यमिक विद्यालय (०–१२) को ब्यबस्थापन समिति अध्यक्ष थिए । अध्यक्ष रहेको अवस्थामा सोनारले विद्यालयमा समय दिने गरेको र शैक्षिक गतिविधिमा समेत चाँसो राख्ने गरेकोमा नगर प्रमुख भएपछि बेबास्ता गरेको आरोप लाग्न थालेको छ । हाल यस विद्यालयको ब्यबस्थापन समितिको अध्यक्षमा वडाअध्यक्ष अनिल झा छन् ।
प्रधानाध्यापक बैधनाथ महासेठले सोनारभन्दा झाले विद्यालयलाई थोरै समय दिन सकेको बताउँछन् । भवन अभाव र आर्थिक समस्या झेलिरहेको यस विद्यालयमा ७ सय ५४ छात्रासहित १ हजार ३ सय ६१ विद्यार्थी अध्ययनरत छन् । पाँचजना बालबिकास सहजकर्तासहित ३२ जना शिक्षक कार्यरत रहेको यो विद्यालयको स्थापना २०१३ सालमा भएको हो ।
वडाअध्यक्ष झा दोस्रोपटक निर्वाचित भएपछि स्वयम् समितिको अध्यक्ष बनेका छन् । हालका नगर प्रमुख समितिको अध्यक्ष हुँदा वडास्तरीय र नगरस्तरीय बजेटबाट पर्खाल, मूलद्वार(गेट), परिसरमा सडक ढलान, कक्षा ११ र १२ को लागि कोठा निर्माणको कार्यहरू गरेको जानकारी दिएका छन् । आफै अध्यक्ष भएको ३ महिनामात्रै हुन लागेकोले अबका दिनमा शैक्षिक गतिविधि सुधार तथा भवन निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता ब्यक्त गर्छन् ।

No description available.
बिज्ञान प्रयोगशाला, पुस्तकालय तथा कम्प्युटर प्रयोगशाला अब्यबस्थित रहेको यस विद्यालयको पठ्नपाठनप्रति अभिभावकहरू असुन्तुष्ट देखिएका छन् । अभिभावक सत्रोहन गामीले कक्षामा अत्याधिक चाप हुँदा बिद्यार्थीले राम्ररी सिक्न नपाएको गुनाँसो घरमा गर्ने गरेको बताउँछन् ।
प्रधानाध्यापक महासेठ भन्छन्, “राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चारकोठे भवन स्विकृत भएकोले निर्माण सम्पन्न भएपछि मात्र कक्षा कोठाको अभाव केही हदसम्म समाधान हुनेछ । तर नगरपालिकाले भवन निर्माणमा लगानी नबढाएसम्म समस्या समाधान गर्न ग्राहोे छ ।”
वडाअध्यक्ष झाले ४५ लाख रुपैया खर्च गर्न मिल्ने चारकोठे भवन निर्माण स्विकृत भएपनि रकम नआएकोले काम अगाडि नबढेको जानकारी दिँदै विद्यालयमा अध्याधिक शिक्षक हुँदा समेत चाप बढी भएको कक्षालाई सेक्सन बाड्न नसकिएको स्विकार गर्छन् ।
तत्कालिन वडाअध्यक्षले रोजेको ब्यक्ति ब्यबस्थापन समितिको अध्यक्षमा रहेको जलेश्वर–३ मलिवारास्थित जनता माध्यमिक विद्यालय (०–१०) को अवस्था केही फरक देखिन्छ । २०१९ सालमा स्थापना भएको यस विद्यालयमा गतबर्ष राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चारकोठे स्विकृत भएपनि हालसम्म भवन निमार्णमा ढिलाई भएको छ । भवन निर्माणका लागि ३२ लाख स्विकृत भएकोमा अहिलेको अवस्थामा कसैले ठेक्का कबोल नगरेको र यो बर्ष निर्माण कार्य थालनी गर्दा ४० लाख रुपैयाभन्दा बढी खर्च हुने देखिएको प्रधानाध्यापक बेचन राय बताउँछन् ।
प्रधानाध्यापक राय भन्छन्,“अनुदानमा प्राप्त भवन निर्माण गर्दा विद्यालयको आन्तरिक आयबाट २० देखि २५ प्रतिशत रकम थप्नुपर्छ । माध्यमिक तहमा स्थायी दरबन्दी नरहेकोले दुईजना शिक्षक आन्तरिक स्रोतबाट राखिएकोले भवन निर्माण गर्न नसकिने अवस्था छ ।”
हालको ब्यबस्थापन समितिको कार्य अवधि माघ महिनामा सकिने जानकारी दिँदै अब गठन हुने ब्यबस्थापन समितिले बिद्यालयको बिकास गर्नेमा आफू आशावादी रहेको प्रधानाध्यापक राय बताउँछन् ।
महेन्द्र माध्यमिक विद्यालयभन्दा कम्प्युटर प्रयोगशाला, बिज्ञान प्रयोगशाला र पुस्तकालय ब्यबस्थित रहेको जनता माध्यमिक विद्यालयमा २ सय ८० छात्रासहित ५ सय ५४ विद्यार्थी अध्ययनरत छन् भने दुईजना बालबिकास सहजकर्तासहित १४ शिक्षक कार्यरत छन् । प्रधानाध्यापक राय भन्छन्, “केही विद्यालयमा आवश्यकताभन्दा बढी शिक्षक छ तर यहाँ शिक्षकको अभाव हुँदा कार्यरत शिक्षक सातवटै घण्टी पढाउन बाध्य छन् । नवनिर्वाचित नगरप्रमुखले हालसम्म पालिकाभरिका विद्यालयको प्रधानाध्यापकहरूसँग संयुक्त बैठक नगरेकोले सामुहिक समस्या र समाधानबारे छलफल हुन सकेको छैन ।” पूर्व नगर प्रमुख रामशंकर मिश्रजस्तै नवनिर्वाचित नगरप्रमुख सोनार पनि विद्यालयप्रति अनुदार भए जलेश्वरको शैक्षिक अवस्था धारासायी हुने सम्भावना बढ्ने प्रधानाध्यापक रायको कथन छ ।
जलेश्वर नगरपालिका कार्यालयले आफ्नो वेवसाइटमा शिक्षा ऐनको विद्यालय ब्यबस्थापन गठनसँग सम्बन्धित पानामात्र सार्वजनिक गरेको देखिन्छ । जलेश्वरका अभिभावक विजय कुमार साह भन्छन्,“पूर्व नगरप्रमुखले स्थानीय पाठ्यक्रम निर्माण गरेर लागू गराउन नसक्नुका साथै दरबन्दी मिलान पनि गर्न सकेन् । नवनिर्वाचितलाई यो विषयसँग अहिलेसम्म चाँसो जागेको छैन ।”
स्थानीय पाठ्यक्रम निर्माणप्रति जलेश्वर नगर कार्यपालिका अनुदार रहेको शिक्षा शाखा प्रमुख जय कुमार साह स्विकार गर्छन् । उनी भन्छन्,“कार्यपालिकाको प्राथमिकतामा शिक्षा क्षेत्र नपरेकोले स्थानीय पाठ्यक्रम मात्र नभई विद्यालयहरूको अवस्था समेत दयनीय छ ।”
स्थानीय पाठ्यक्रम नै नरहेकोले मलिवारको जनता माध्यमिक विद्यालयले अंग्रेजी व्याकरण लागू गरेको छ भने अन्य विद्यालयहरूले समेत आफ्नै ढंगले विभिन्न विषय प्राथमिकतामा राखेर १०० पूर्णाङ्कको लागि गतिविधि गरिरहेको छ । जलेश्वर नगरपालिका कार्यालयले हालसम्म आफ्नै पहलमा नगरस्तरीय हाजिरी जवाफ, चित्रकला, बादबिवाद, गीत, संगीत, नृत्यकलालगायतका कुनै पनि अतिरिक्त क्रियाकलाप आयोजना गरेर विद्यार्थीलाई प्रोत्साहन गर्ने कार्यक्रम गरेको छैन ।
शिक्षा शाखा प्रमुख साह भन्छन्,“हालसम्म नगर शिक्षा समितिको बैठक मात्र नभई शैक्षिक रणनीति निर्माणका लागि कार्यपालिकाबाट पहल समेत भएको छैन । पालिकाभित्रका विद्यालयमध्ये पचास प्रतिशत ब्यबस्थापन समिति विहीन छ ।”
वडाअध्यक्ष ब्यबस्थापन समितिको अध्यक्ष हुँदा आफूलाई अनुकूल हुने सानोतिनो बजेट विद्यालयमा खर्च गर्ने गरेको उदाहरण भेटिन्छन् । त्यही आफ्ना प्रतिनिधिको रूपमा गैरपदाधिकारीलाई अध्यक्ष बनाउँदा वडास्तरको बजेटबाट मात्र नभई नगरस्तरीय बजेटबाट समेत एक रूपैया लगानी नगर्ने परिपाटी छ । जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रायले गैरपदाधिकारी ब्यबस्थापन समिति अध्यक्ष हुँदा कुनै सहयोग नपाएको गुनाँसो गरेका छन् । त्यही वडाअध्यक्ष समितिको अध्यक्ष हुँदा विद्यालयको सल्लाह बिना आफू अनुकूल भवन निर्माण गरि प्रयोगविहीन राखेको महेन्द्र आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक महासेठ बताउँछन् ।
वडाअध्यक्ष ब्यबस्थापन समितिको अध्यक्ष हुँदा वा उनका प्रतिनिधिको रूपमा गैरपदाधिकारी अध्यक्ष हुँदा शिक्षा शाखाबाट हुने समन्वयमा कठिनाई हुने गरेको छ । शाखा प्रमुख साह भन्छन्,“गैरपदाधिकारी अध्यक्ष हुँदा विद्यालयसँग सम्बन्धित कार्यमा समन्वय गर्न सजिलो हुन्छ । त्यही वडाअध्यक्ष छ भने समन्वयमा थोरै कठिनाई हुन्छ । यति हुँदा समेत विद्यालयमा बिकास हुन्छ नै भन्ने ग्यारेन्टी हुँदैन ।”
वडास्तरीय बजेट खर्चको तुलना गर्दा २०१७ सालमा जलेश्वर–१० सारीस्थित स्थापना भएको अभिनन्दन आधारभूत विद्यालय (०–८) मा थोरै सकारात्मक प्रभाव परेको देखिन्छ । विद्यालयमा भौतिक निर्माणसँगै शिक्षण गतिविधिमा समेत सुधार भएको छ । स्थानीयका अनुसार वडाअध्यक्ष बिकाउ दास नै ब्यबस्थापन समितिको अध्यक्ष भएकै कारण विद्यालयको भौतिक बिकास भएको हो । स्थानीयको यस दाबीमा शिक्षा शाखा प्रमुख शाखाले सहमति जनाउँदै भनेको यो जलेश्वर नगरपालिकाभित्रको अपवाद विद्यालय अन्तर्गत पर्छ ।
जलेश्वर नगरपालिका क्षेत्रभित्र २००४ सालदेखि नै विद्यालयहरू स्थापना भएको इतिहास छ । यस पालिकाको नगर प्रमुख र उपप्रमुख तथा ५ जना वडाअध्यक्षबाहेक ७ जना वडाअध्यक्ष दोस्रोपटक निर्वाचित भएका छन् । पूरानो कार्य अवधिमा नभएको विद्यालय बिकासको काम दोहरिएका र नयाँ पदाधिकारीले पालिका एवं वडास्तरीय बजेटबाट गर्छ भन्नेमा स्थानीयबासिन्दा विश्वस्त देखिएका छैनन ।
विद्यालयको समस्याबारे अभिभावकहरू सामुहिक रूपमा आवाज नउठाएकै कारण समाधान हुन नसकेको अभिभावक रजिया खातुन स्विकार्छिन् । उनी भन्छिन्,“विद्यालयमा देखिएको बेतिथि रोक्न तथा शैक्षिक सुधार गर्न ब्यबस्थापन समितिका अध्यक्ष, वडाअध्यक्ष, नगर प्रमुख र उपप्रमुखलाई अभिभावकले सामुहिक दबाब दिनु आवश्यक छ । ”
नवनिर्वाचित नगर प्रमुख सुरेश साह सोनारले शिक्षा क्षेत्रको समस्या समाधानका लागि बिज्ञहरूसँग छलफल गरि अघिल्लो कार्यकालमा बनाइएको शिक्षा ऐनमा समेत संशोधन गर्नुपर्ने सुझाव आए नगरसभामा यो विषय प्रवेश गराउने आश्वासन दिएका छन् । उनले शैक्षिक गतिविधि सुधार , दरबन्दी मिलान, नगर शिक्षक भर्ना, भौतिक पूर्वाधार बिकाससहितको काममा लागि आवश्यक पहल गरिरहेको जानकारी दिँदै पहिलो चरणमा विद्यालय अवलोकन तथा निरीक्षणको काम प्राथमिकतामा राखेको बताउँछन् । उनी भन्छन्,“आशा गरौं मेरो कार्यकालमा शिक्षा क्षेत्रको धेरै समस्याहरू समाधान हुनेछ ।”
बालमन्दिर आधारभूत विद्यालय (०–५) जलेश्वर–२ का प्रधानाध्यापक सुरेन्द्र सिंहले ब्यबस्थापन समितिको अध्यक्षमा कस्ता ब्यक्ति छन् भन्ने विषय महत्वपूर्ण हुने बताउँछन् । उनी भन्छन्,“बिद्यालय ब्यबस्थापन समितिमा को अध्यक्ष भए भन्दा पनि कस्ता ब्यक्ति अध्यक्ष बनाइए भन्ने विषय महत्वपूर्ण छ । विद्यालयको समस्या समाधान गर्न जागरूकता देखाउने र पहल गर्नेको नेतृत्वमा विद्यालय दिनुपर्छ भन्ने मेरो मान्यता छ ।”

No description available.