जनकपुर प्रादेशिक अस्पतालको निवासमा पूर्वकर्मचारीको रजाइँ – Jaleshwortoday

जनकपुर प्रादेशिक अस्पतालको निवासमा पूर्वकर्मचारीको रजाइँ

 ५ माघ २०७९, बिहीबार २१:४६  
aa

जलेश्वरटुडे समाचारदाता
धनुषा, ५ माघ

जनकपुर प्रादेशिक अस्पतालको कर्मचारी निवास अनधिकृत रूपमा प्रयोग भइरहेको पाइएको छ । सेवा अवधि सकिएका पूर्व मेसुदेखि डेढ वर्ष अघि सरुवा भइसकेका कर्मचारीहरूले अस्पतालको निवासमा कब्जा जमाइरहेका हुन् ।अस्पतालले गत मंसिर २८ मा सूचना जारी गर्दै अनधिकृत रूपमा कर्मचारीहरूले प्रयोग गरिरहेका निवासहरू पुस मसान्तभित्र खाली गर्न भने पनि अझै खाली हुन सकेको छैन । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिस्तरीय निर्णय अनुसार अस्पताल मातहतको तालिम भवन र कर्मचारी निवास पुस मसान्तभित्र खाली गर्न भनिएको थियो । तर, माघको पहिलो साता बित्न लाग्दा पनि अनधिकृत प्रयोग गरिरहेका पूर्व कर्मचारीहरूले निवास खाली गरेका छैनन् ।अस्पतालका पूर्व मेसु डा.प्रमोद कुमार यादव गत असारमै सरुवा भएर काठमाडौं गइसकेका छन् । तर, उनले प्रयोग गर्दै आएका कर्मचारी निवासमा उनका भान्जाहरू बस्दै आएका छन् । यस्तै प्रदेशसभा सदस्य शेष नारायण यादवकी श्रीमती प्रेमा ढकाल स्टाफ नर्सको रूपमा अस्पतालमा कार्यरत थिइन् । उनको सेवा अवधि सकिए पनि उनले प्रयोग गर्दै आएको कर्मचारी निवास अझै खाली भएको छैन । यस्तै स्टाफ नर्स गीता थापाको डेढ वर्ष अघि सरुवा भइसकेको छ । तर, उनले प्रयोग गर्दै आएको कर्मचारी निवास अझै खाली गरेकी छैनन् । स्टाफ नर्स निषा थापाको सरुवा भइसकेको पनि निवास खाली गरिएको छैन भने अस्पतालकै कर्मचारी सञ्जिता यादवको निवास उनको आफन्तले प्रयोग गरिरहेका छन् ।अनधिकृत रूपमा सरकारी निवास प्रयोग गरिरहेकालाई ‘निवास खाली किन नगरेको ?’ भनेर प्रश्न गर्दा अधिकांशले जवाफ दिन मानेनन् भने उक्त निवासमा आफन्तका रूपमा बस्दै आएका कतिपयले आफूलाई यस विषयमा जानकारी नै नभएको प्रतिक्रिया दिएका छन् । अस्पतालको विभिन्न भवनमा निवास खाली गराउनेबारे सूचना टाँसिएको छ । अस्पतालका उपनिर्देशक डा.केडी दासले अनधिकृत रूपमा प्रयोग हुँदै आएको कर्मचारी निवास खाली नगर्नेलाई कारबाही गर्ने तयारी भइरहेको बताए । उनले एक महिना अघि सूचना जारी गरिएको हुँदा अटेर गर्नेलाई नियमानुसार कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनी दिए । हालसम्म अस्पतालले नै कर्मचारी निवासको बिजुली र पानीको खर्च व्यहोर्दै आएकोमा अबदेखि निवासमा बस्ने कर्मचारी स्वयंले खर्च व्यहोर्नु पर्ने नियम लागू गरिएको पनि उपनिर्देशक डा. दासको भनाइ छ ।

letter