
जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ६ माघ
मधेश आन्दोलनका शहीदहरूको अपमान गरिएको भन्दै नेपाली कांग्रेस मधेस प्रदेश कार्य समितिले आपत्ति जनाएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा मधेश आन्दोलनका शहीदहरूको सम्मानका लागि सांसद डा. सीके राउतद्वारा गरिएको मौनधारणको अनुरोधलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका कतिपय सांसदहरूले अवज्ञा गर्नु दुःखद रहेको काँग्रेसले जनाएको छ । नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादवले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै मधेस वलिदानी दिवसका अवसरमा भएको यस्तो घटनाले साशकहरु मधेशका वीरसहिदप्रति वैरभाव राखेको बताएका छन् ।विज्ञप्तीमा भनिएको छ, ‘यो घटनाबाट हाम्रा शासकहरू मधेसका शहीदहरूप्रति समेत वैरभाव राख्छन् भन्ने प्रष्ट हुन्छ । मधेस आन्दोलनका शहीदहरूप्रति प्रधानमन्त्री दाहाल लगायतबाट देखाइएको यो हट्टी रवैया मधेस र मधेशी जनताप्रतिको अपमान पनि हो । यो घटना मधेशीजनविरुद्ध व्याप्त विभेदपूर्ण मानसिकताको उपज हो ।’नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललगायत केही मन्त्री र सांसदहरू आसनबाटसमेत नउठेको घटनाले सत्ता र सत्तासिन राजनीतिक दलहरूले मधेस आन्दोलनलाई मान्यता दिन नचाहेको विज्ञप्तीमा भनिएको छ ।