मिथिलाञ्चलमा शुक्रबार देखि शनिबारसम्म कोजाग्रात पूर्णिमा मनाइने – Jaleshwortoday

मिथिलाञ्चलमा शुक्रबार देखि शनिबारसम्म कोजाग्रात पूर्णिमा मनाइने

 १४ कार्तिक २०७७, शुक्रबार २१:५८  
Kojagara

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १४ कार्तिक

मिथिलाञ्चलमा शुक्रबारदेखि शनिबारसम्म कोजाग्रत पूर्णिमा मनाइने भएको छ । जनकपुरधाम लगायत छेउछाउको क्षेत्रमा शुक्रबार नै कोजाग्र्रात पूर्णिमा मनाइयो भने तिथिको कारण जानकी मन्दिर लगायत अन्य मठ मन्दिरहरुमा शनिबारको राति यो पर्व मनाइने छ ।
आजको दिनबाट यस वर्षको दशैंलाई विधिवत रुपमा समापन गरिँदै तिहारको स्वागत गरिन्छ । मिथिला क्षेत्रमा भने कोजाग्रत पूर्णिमालाई ‘कोजगरा’ को रुपमा मनाइन्छ । कोजगराको अवसरमा पूजापाठका साथै यसै वर्ष विवाह भएका नवजोडीका लागि अन्तिम विधि गर्ने गरिन्छ । पछिल्लो वर्ष मंसिरदेखि असारसम्म वैवाहिक जीवनको सुरुवात गरेका बेहुली पक्षबाट बेहुलाको घरमा यस दिन भार पठाउने चलन छ । भारमा पान, मखान, फलफूल, दही, मिठाई, सौंफ, मुमफली अनिवार्य हुन्छ । यसैगरी बेहुलासहित उनको परिवारका हरेक महिला सदस्यका लागि कपडा पनि लग्नैपर्ने हुन्छ । बेहुलीको घरबाट बेहुलाको घरमा भार आएपछि बेहुलालाई चुमाउने गरिन्छ । यसलाई चुमाओन विधि भनिन्छ । पुरोहितले मन्त्रोच्चारण गर्दै बेहुलालाई चुमाएपछि ठूलाबडाले आर्शिवाद दिने गर्छन् । यस दिन बेहुलाहरुलाई मिथिलाको पाग लगाइदिँदै ससुरालीबाट आउने कपडा पहि¥याउने गरिन्छ । बेहुलीकै घरबाट आउने डाला, धान, अक्षता, दही, केराजस्ता पूजा सामग्रीबाट बेहुलालाई चुमाउने गरिन्छ । बेहुलाको टाउकोदेखि खुट्टासम्मको पाँच प्रमुख स्थानलाई चुमाउने चलन छ । चुमाओन गरिनु भनेको एक किसिमको आर्शिवाद दिनु हो ।
चुमाओन विधि सकिएपछि सामूहिक रुपमा भोजजस्तै खानपिनको आयोजना गरिन्छ । क्षमता हुनेले ठूलो भोज आयोजना गर्छन् यस दिन । यस अवसरमा मिठाइ, मखान, पान खानैपर्ने हुन्छ । खानपिनपछि कौडासहित पचिसी खेल्ने चलन छ ।