जलेश्वरटुडे समाचारदाता
धनुषा, २३ माघ
मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र भोलि सहभागी हुने भएको छ । उद्योग वन तथ पर्यटन मन्त्रालय लिएर माओवादी केन्द्र सरकारमा जान लागेको हो । मधेस प्रदेश सरकारका मुख्यमन्त्रीले गत माघ २० गते गठन गरेको मन्त्रिपरिषद् विस्तारमा सहभागी नभएको माओवादी केन्द्र जम्मा एक मन्त्रालय लिएर सरकारमा सहभागी हुन लागेको हो । माओवादीले शहीद रामवृक्ष यादवकी छोरी सुनीता यादवलाई मन्त्री बनाउने भएको छ । स्रोतका अनुसार उनको शपथग्रहण मंगलबार हुनेछ ।
माओवादीले उद्योग, पर्यटन तथा वन मन्त्रालय पाउने टुङ्गो लागेको र सोही मन्त्रालयको राज्यमन्त्री पनि लिने तयारी छ । स्रोतका अनुसार समानुपातिक सांसद सुनीता यादवलाई मन्त्री र पर्साबाट निर्वाचित रहबर अन्सारीलाई राज्यमन्त्रीको जिम्मेवारी दिइने भएको छ । मधेस प्रदेशमा माओवादी केन्द्रका ९ सांसद रहेका छन् । माओवादीका मधेस प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले माओवादीलाई दुई मन्त्रालय दिनुपर्ने अडान राख्दै आएका थिए । तर, एउटा मात्रै पाउँदा साह आफैं मन्त्री हुनबाट वञ्चित हुनु भएको हो । साह यसअघि पनि प्रदेश सरकारको गृह तथा सञ्चारमन्त्री रहेका थिए। मधेस प्रदेशमा १० मध्ये ९ मन्त्रालय जसपा, एमाले र जनमतले भागबण्डा गरिसकेका छन्। मुख्यमन्त्री सरोजकुमार यादवले माओवादीको लागि एक मात्र उद्योग वन तथा पर्यटन मन्त्रालय आफूसँग राखेका छन्।