कुमारी आमा निहारिका र शिवराज बीच विवाह समपन्न – Jaleshwortoday

कुमारी आमा निहारिका र शिवराज बीच विवाह समपन्न

 २७ माघ २०७९, शुक्रबार २२:१६  
ll

जलेश्वरटुडे समाचारदाता
धनुषा, २७ माघ

कुमारी आमा निहारिका सिंह राजपुत र शिवराज श्रेष्ठले विवाह गरेकी छिन् । बिहीबार जानकी मन्दिरमा उनीहरु हिन्दु परम्परा अनुसार विवाह गरेका हुन् ।लामोसमयदेखि बलात्कार मुद्दा लडिरेका दुबैजना १७ माघमा जिल्ला अदालत धनुषामा मिलापत्र गरेका थिए । न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र भएको थियो । बलात्कारको आरोप लगाउँदै शिवराज विरुद्ध अदालतमा उजुरी समेत गरेकी निहारिकाले उनीविरुद्ध अंश मुद्दासमेत हालेकी थिइन् । मिलापत्र अनुसार श्रेष्ठले निहारिकालाई श्रीमतीका रुपमा स्वीकारेका थिए । जिल्ला अदालतमा अंश मुद्दा दिएकी निहारिकाले दुईबीच पति–पत्नीका रुपमा बस्ने निर्णय अनुसार मिलापत्र गरेको बताएकी थिइन् । निहारिकाले आफू बलात्कृत भएको र कानूनी उपचारका लागि प्रशासनले सहयोग नगरेको भन्दै लामो समयदेखि आन्दोलन गरिरहेकी थिइन् । त्यसक्रममा उनी पटकपटक पक्राउ समेत परेकी थिइन् । उनले आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने, घटनाको सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी काम भएको भन्दै पुनः जाँच गरिनुपर्ने लगायको माग राख्दै अनशन समेत बसेकी थिइन् । यो प्रकरण पहिल्यै अदालतसम्म पुगेको थियो । तर, जिल्ला अदालत, धनुषाले २४ माघ २०७८ मा श्रेष्ठलाई सफाइ दिएको थियो । सविरुद्ध निहारिका उच्च अदालत जनकपुर पुगेकी थिइन् । उच्च अदालतको आदेश अनुसार भएको.डिएनए परीक्षण निहारिकाकी अढाइ वर्षे छोरा बिआनसंग मिलेको थियो । अहिले पनि उच्च अदालतमा मुद्दा बिचाराधिन छ ।