दलितको पहुँच कार्यपालिकामा भए पनि उनीहरु अधिकारबाट अझै वञ्चित : मन्त्री साह – Jaleshwortoday

दलितको पहुँच कार्यपालिकामा भए पनि उनीहरु अधिकारबाट अझै वञ्चित : मन्त्री साह

 २८ माघ २०७९, शनिबार २३:४०  
tt

जलेश्वरटुडे समाचारदाता
धनुषा, २८ माघ

मधेस प्रदेशका सामाजिक विकासमन्त्री सुरिताकुमारी साहले दलितहरुको अधिकारमा पहुँच हुन नसकेको बताएकी छन् ।

दलित सरोकार मञ्च नेपाल कञ्चनरुप नगरपालिका–८ सप्तरीको आयोजनामा ‘दलित सशक्तीकरण ऐन २०७६ कार्यान्वयनको अवस्था ः आगामी दिनमा कार्यपालिका सदस्यहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री साहले सो कुरा बताएकी हुन् ।

उनले स्थानीय तहहरुमा सरकारले अनिवार्य दलितको सिद्धान्तपछि दलितको पहुँच कार्यपालिकामा भए पनि उनीहरु अधिकारबाट अझै वञ्चित हुन परेको बताइन् ।

उनले भनिन्, ‘वडा कार्यालय वा कार्यपालिकाका बैठकमा सहभागी त हुन्छन्, तर उनीहरुले भनेको कुरा कसैले सुनिदिँदैनन् । कार्यकारी पदमा दलित छैनन्, अनि दलितको कुरा सुनेर पनि नसुनेझैँ गरेर बस्छन् । अनि म कहाँ धेरैजना आउनुहुन्छ, म सुझाव दिएर पठाउँछु, तपाईंहरु सही नगर्नुस् तर भत्ताको लोभमा उनीहरु सही गरेर आउँछन्, यस्तो ठूलो विडम्बना छ ।’

कार्यक्रममा प्रदेशसभा सदस्य शारदा दास पहाडीले उत्पीडित समुदायलाई सामाजिक बहिष्करणबाट मुक्त गर्न विशेष अधिकारको ग्यारेन्टी हुनुपर्ने बताइन् ।

उनले भनिन्, ‘आरक्षण शासक वर्गको खल्तीमा हुन्छ, सकारात्मक भएको बेला दिन्छ र अलि उसलाई असहज जस्तो भएमा खोस्छ । विशेष अधिकार उत्पीडित समुदायको हातमा हुन्छ, उसले प्रयोग गर्न पाउँछ ।’

उनले तत्कालीन नेकपा माओवादीले जनयुद्धका बेलामा मुक्तिको लागि विशेषाधिकारको अवधारणा अगाडि सारेको समेत बताइन् । विशेषाधिकार राजनीतिकसँग र आरक्षण सामाजसँग जोडिएको बताउँदै आरक्षण संसारबाट असफल भइसकेकोले अव विशेष अधिकारमा जानुपर्ने उनको भनाइ थियो ।

कार्यकारी निर्देशक भोला पासमानले दलितले अधिकार नखोजेसम्म अधिकार नपाइने भएकाले संगठित रुपमा संघर्ष गर्नुको विकल्प नभएको बताए । राजनीतिक पार्टीका नेताहरुले सत्तामा पुग्न दलित मुक्तिका नारा लगाउने, तर सत्तामा पुगेपछि आफैले लगाएका नारा नै भुल्ने गरेको बताए ।

कार्यक्रममा दलित समुदायको अधिकार, तथ्यमा आधारित पैरवी, सहभागितामूलक कार्यप्रणालीलगायतको विषयमा छलफल भएको थियो ।

दलित समुदायको अधिकार सम्बन्धी व्यवस्था पुस्तिका विमोचन

मन्त्री साहले दलित सरोकार मञ्च नेपालले प्रकाशन गरेको दलित समुदायको अधिकारसम्बन्धी व्यवस्था पुस्तिका पनि विमोचन गरेकी छन् । भोला पासवानले तयार गरेको उक्त पुस्तिकामा नेपालको संविधान विभिन्न ऐन कानुन नियमावली, कार्यविधिमा दलित अधिकार सम्बन्धी व्यवस्थाहरु समेटिएको छ ।

कार्यक्रममा मधेस प्रदेशसभामा निर्वाचित दलित समुदायका प्रदेशसभा सदस्यहरु रञ्जुकुमारी मण्डल खंग, सकुतीदेवी महारा, निलमकुमारी रजक, पल्टीदेवी महरा र शारदा दास (पहाडी)लाई मञ्चका निर्देशक पासवानले सम्मान गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य मञ्चका कार्यक्रम संयोजक सुनिलकुमार सरवरियाले गरेका थिए ।