
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ५ फाल्गुण
महोत्तरीको जलेश्वरमा आज महाशिवरात्रिको अवसरमा कलश शोभा यात्रा भव्यताका साथ निकालिएको छ ।
सो कलश शोभा यात्रामा प्र्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडी, जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार,मटिहानी नगरपालिकाको नगर प्रम्ख हरि प्रसाद मण्डल,महाशिवरात्रि मेला अध्यक्ष रमण चौधरी, मेला समितिका अन्य पदाधिकारीहरु,ओम शान्तिका प्रतिनिधिहरु,्स्थानिय सरकारी तथा गैर सरकारी विद्यालयहरु,विभिन्न युवा कल्बहरु,समाजसेवी,राजनितिकर्मी,बुद्धिजिवि,नेपाली सेना,सशस्त्र प्रहरी,जनपथ प्रहरी,नगर प्रहरी,पत्रकार तथा सर्वसाधारणहरुको गरिमामय उपस्थिति रहेको थियो ।
सो शोभा यात्रा जलेश्वर नगरको परिक्रमा गरेको थियो भने सहभागि प्रतिनिधिहरुले भगवान शिवको महिमाको बखान गर्दै भव्यता प्रदान गरेका थिए । सो शोभा यात्रामा हजारौ भक्तजनहरुको सहभागिता रहेको अडकल गरिएको छ ।
महाशिवरात्रीको अवसरमा मधेस प्रदेशको महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकामा अवस्थित जलेश्वरनाथ महादेव परिसरलाई बेहुली झै सजाइएको छ । सो क्रममा मन्दिर भित्रका शिव मन्दिर,पार्वति मन्दिर लगायत विभिन्न मन्दिरहरुलाई शयपत्रीको फुलले सजाइएको छ भने विभिन्न ठाउँहरुमा लगाइएको गुलजस्ताले मन लोभ्याउने विश्वास गरिएको छ । मन्दिरलाई पहेलो रंगले रंगरोगन गरिएको छ भने विभिन्न ठाउँहरु ओम तथा शिव भगवानसँग सम्बन्धीत लेखहरुले यस क्षेत्रको धार्मिकतालाई दर्शाएको देखिन्छ । मन्दिरको चारै क्षेत्रलाई विभिन्न रंगीचंगी कपडा तथा फुलहरुले सजाइएको प्रष्ट देख्न सकिन्छ । यति मात्र होइन फोटो खिचाउने साइटलाई समेत मूल मन्दिरदेखि दक्षिणपट्टी राखिएको मुल द्वारबाटै देख्न सकिन्छ । साथै भक्तजनहरुको भिडलाई नियन्त्रित राख्न र जलेश्वरनाथको दर्शन सहज बनाउनको लागि बाँसको सहयोगले पूर्व,पश्चिम तथा उत्तरतिर लाइन बनाइएको छ । रात्रिकालमा बालिने झिलिमिली बत्ति तथा छाताको सजावटले मन्दिर परिसरलाई मनमोहक बनाएको देखिन्छ । मन्दिरको मूल द्वारको माथिल्लो भागलाई समेत सयपत्रि फुलको मालाले सजाइएको छ ।
महाशिवरात्रीको अवसरमा स्थानिय युवा कल्ब तथा सुरक्षा निकायका प्रतिनिधिहरुले बिहिबार बिहानै मन्दिर सरसफाई समेत गरेका थिए ।
महाशिवरात्रीको दिन जलेश्वरनाथलाई बेलपत्र,पुष्प,माला,जल लगायतका सामाग्रीहरु अर्पण गरी मनवाँचित फल प्राप्त गर्न जलेश्वरनाथको मन्दिर परिसरमा उपस्थित भई दिन सबै देशी तथा बिदेशी श्रद्धालु भक्तजनहरुसँग नगर प्रमुख सोनारले आग्रह गरेका छन् ।
विश्वमै प्रख्यात रहेको जलगुफा भित्रको महाशिवलिंगको स्पर्श तथा दर्शनले विभिन्न रोग व्याधि निको हुने,यश,बैभव,सुख तथा शान्तिको प्राप्ति हुने गरेको जनआस्था रहि आएको छ ।
यस मन्दिरको प्रचारप्रसारको लागि बढी पर्यटक आउने ठाउँहरुमा यस मन्दिर सम्बन्धी जानकारी भएको फ्लैक्स तथा फोटाहरुको व्यवस्थापन गराउन आवश्यक रहेको विज्ञहरुको सल्लाह रहेको छ ।