
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ११ फाल्गुण
अति प्रसिद्ध जनआस्थाको प्रतिक १५ दिने मिथिला मध्यमा परिक्रमालाई मटिहानीमा भव्य स्वागत गरिएको छ । साथैं परम्परागत रुपमा शुक्रबार विहानै सुगा हुँदै जलेश्वर आइपुग्ने छ ।
मिथिला बिहारी तथा किशोरीजीको डोलालाई मटिहानी नगर प्रमुख हरि प्रसाद मण्डल लगायत पालिकाका कर्मचारीहरु,सुरक्षा निकाय तथा स्थानियहरुले फुल,माला,अबिर,मिष्ठान अर्पण गरी काँधमा बोकी परिक्रमा स्थलसम्म पुर्याएका थिए ।
जनकपुरधामको हनुमाननगरको हनुमानगढीबाट सुरु भएको परिक्रमा भारतको कल्याणेश्वर, गिरिजास्थान हुँदै बिहिबारमटिहानी आइपुगेको हो ।
मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल, पालिकाका वडाध्यक्षहरु,पालिकाका अन्य प्रतिनिधिहरु,प्रमुख जिल्ला अधिकारी दिपक
पहाडी, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, सुरक्षा निकायका प्रमुखहरु तथा विभिन्न विशिष्ट व्यक्तिहरुका साथै मटिहानीवासीले रामजानकीको डोलासँगै सम्पुर्ण परिक्रमायात्रीलाई स्वागत तथा अभिनन्दन गरेका थिए।
मेलामा निःशुल्क औषधी लगायतका आवश्यक सामाग्रीहरु वितरणमा मटिहानी नगरपालिका तथा स्थानियहरुको सहयोग तथा समन्वय रहेको देखिएको थियो । डोलाको आगमन सँगै स्थानियहरुका उत्साह तथा हर्ष देखिएको थियो ।
स्थानीय निकाय, बृहत जनकपुर क्षेत्र विकास परिषद, मटिहानीस्थित लक्ष्मी नारायण मन्दिर लगायत विभिन्न सरोकारवाला निकाय तथा स्थानीयहरुको सहयोग र समन्वयमा परिक्रमा यात्रीहरुको लागि आवश्यक खाद्यान्न लगायतको व्यवस्थापन भइरहेको बुझिएको छ ।
ऋषिमुनि, साधुसन्त तथा मानव रुपी भगवान को तपोभूमि स्थलहरुको परिक्रमा गर्दा पुण्य र मोक्ष प्राप्ती हुने जनविश्वस रहेकोले १५ दिने माध्यमिकी परिक्रमा धेरै पुरानो समयदेखि संचालन भइरहेको छ ।
यता शुक्रबारको लागि डोला तथा परिक्रमाबासीलाई व्यवस्थापन गर्न सबै कार्यहरु समपन्न भईसकेको जलेश्वर नगर प्रमुख सुरेश साह सोनारले जानकारी गराउनुभयो ।
सो दिन अति आवश्यक काम बाहेक पालिकाको कार्यालय,मातहतका सम्पूर्ण वडा कार्यालयहरु,सामुदायिक विद्यालयहरु एवं स्वास्थ्य कार्यालयहरुमा स्थानिय बिदा दिइएको समेत जानकारी गराएका छन् ।साथै शुक्रबार आइपुग्ने रामजानकीको डोला लगायत साधु सन्त तथा श्रद्धालु भक्तजनहरुलाई जलेश्वरनाथको नगरीमा व्यक्तिगत रुपमा समेत स्वागत गरिदिनु हुन नगर प्रमुख सोनारले सम्पूर्ण जलेश्वर नगरपालिका बासीहरुलाई आग्रह गरेका छन् ।
सुगामा समेत परिक्रमाको तयारी समपन्न
त्यसैगरी मिथिला बिहारी तथा किशोरीजीको डोला सहितको लवालस्कर सुगा हुँदै
जाने भएकोले गाउँ तथा सडकको सरसफाई गरिएको वडाध्यक्ष हरिश्चन्द्र महतोले
बताएका छन् । निःशुल्क स्वास्थ्य परामर्श तथा औषधी वितरण,खाद्यान्न
वितरणका कार्यक्रम रहेको बताएका छन् । साथै वडाध्यक्ष महतोले डोला तथा
भक्तजनहरुलाई स्वागत तथा अभिनन्दनमा कुनै कमी नगर्न वडाबासीमा आग्रह गरेका छन् ।