
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ११ फाल्गुण
आर्थिक वर्ष २०७९।०८० राष्ट्रिय हात्तिपाईले रोग निवारण कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालय जलेश्वर महोत्तरीको आयोजनामा बिहिबार प्रादेशिक अस्पताल जलेश्वरको सभा हाँलमा बिधिवत रुपमा सो कार्यक्रमको उद्घाटन गर्दै
मधेस प्रदेशको सामाजिक विकास मन्त्री सुरिता साहले हात्तिपाईलेको चक्की सबैले खाऔ,अरुलाई पनि खान भनौं,हात्तिपाईले उन्मुलन गरौं बताउनु भएको छ ।
सो उद्घाटन कार्यक्रमको अध्यक्षता स्वास्थ्य कार्यालयको प्रमुख डा. भोला यादवले गर्नु भएको थियो भने सामाजिक विकास मन्त्री सुरिता साहलाई प्रमुख अतिथि , जिल्ला समन्वय समितिको सभापति सुमन लाल कर्ण,जलेश्वर नगर प्रमुख सुरेश
साह सोनार,प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडी, उप अनुसन्धान निर्देशक दिलिप कुमार सिंह,प्रयोगशाला निर्देशक डा.रुना झा, प्र्रहरी उपरीक्षक प्रकाश मल्ललाई विशिष्ट अतिथि, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र
न्यौपाने,प्रादेशिक अस्पताल जलेश्वर मे.सु.डा.सतिश कुमार साह,जसपाका नेताहरु,मानवअधिकारकर्मीहरु लगायत स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीहरु,आगन्तुक चिकित्सक,नागरिक समाज तथा पत्रकारहरुलाई
अतिथिको रुपमा आसन ग्रहण गराइएको थियो ।
हात्तिपाईले चक्की प्रयोग गर्ने सम्बन्धमा विभिन्न वक्ताहरुले स्वास्थ्य कार्यालयले तोकेको स्थानिय पालिकाहरुमा उचाई अनुसार औषधी सेवन गर्न हुन
आग्रह गरेका थिए । यो औषधी गर्भपति महिला,क्यान्सर रोगी,मृगौलाको सिकिस्त बिरामी बाहेक २ वर्ष भन्दा माथिका जुनसुकै उमेरका व्यक्तिहरुले खाना खाइसकेपछि पालै पालो तीन थरिका औषधीहरु चिकित्सकको निगरानीमा खान
हुन बताइएको थियो । यो रोग सरुवा रोग भएकोले अहिलेसम्म महोत्तरीमा १५ सय ४४ जना बिरामीहरु फेला परेका छन् जसमध्ये ८ सय ९२ जना हाइड्रोसिल र ६ सय ५० जना हात्तिपाइले र २ जना दुवै रोगले पिडीत भएको फेला परेको
स्वास्थ्यकर्मीहरुले जानकारी गराएका थिए । यो रोगको कुनै साइड इफेक्ट नरहेको र सामान्य बान्ता वा टाउको दुख्दैमा नडराइकन आराम गर्नुपर्ने चिकित्सकहरुले सल्लाह दिएका थिए । महोत्तरीको मटिहानी नगरपालिकामा यी रोगीहरु अत्यधिक रहेको तथ्याँकबाट बुझिएको छ ।
त्यसैगरी सर्वप्रथम जिससको सभापति कर्णले हात्तिपाइलेको औषधी स्वास्थ्यकर्मी आशा साह कुँवरको निगरानी खानु भएका थिए भने प्रजिअ पहाडी लगायत दर्जनौ व्यक्तिहरुले सो औषधि कार्यक्रम स्थलमै खाएर आम जनताले
पनि निर्भिक्क भएर खान हुन उत्प्रेरित गरेका थिए । कार्यक्रमको समापन गर्दै स्वास्थ्य कार्यालय प्रमुख डा.यादवले अल्बेन्डाजोल,आइभरमेक्टिन र डाई ईथाइल
कार्वामाजाइन सबैले खान हुन आग्रह गर्दै सन् २०३० सम्म यो रोग अन्त्य गर्ने सरकारको योजना अन्तर्गत नेपालमा अहिले ७७ जिल्ला मध्ये ३७ वटा जिल्लामा
यो रोग देखा परेकोले अहिले १५ जिल्लाहरुमा यो कार्यक्रम शुरु भएकोले सबैले समयमा औषधी खान आग्रह गर्नुभयो ।
सामाजिक विकास मन्त्री साहले स्वास्थ्य कार्यालय तथा तालिम भवनको अवलोक गरी स्वास्थ्य कार्यालयको समस्याहरुबारे जानकारी लिनु भएको थियो । साथै
मन्त्री साहले छिट्टै यो प्रादेशिक अस्पताललाई पहिलो चरणमा १५ बाट ५० बेडको अस्पताल बनाउन आफु प्रयासरत रहेको उपस्थित सबैलाई जानकारी गराउनुभयो ।