
राजकरण महतो
काठमाडौं, २६ फाल्गुण
महोत्तरीका पत्रकार नवीन चौधरीमाथि सांघातिक हमला गरी फरार रहेको समूहलाई प्रहरीले अझै पक्रिन सकेको छैन। प्रहरीले आपराधिक समूहलाई पक्राउ गर्न टोली परिचालन गरेपनि उनीहरूलाई पक्रिन नसकेको हो। बुधबार जलेश्वर नगरपालिका-५ चौरियास्थित सीमा नाका नजिकै पत्रकार चौधरीमाथि भारतीय समूहले आक्रमण गरेका थिए। कुटाइले ढलेर बेहोस भएका उनको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनको अवस्था सुधारोन्मुख छ। अपराधी समूहले उनको टाउकोमा सीसीको बोतल प्रहार गरी बेहोस बनाएर भारततिर भागेका थिए। एपीवान महोत्तरीको संवाददाता समेत रहेका चौधरीले सीमामा हुने तस्करी, अपराधी घटनाहरूको निरन्तर समाचार लेख्दै आएका छन्। फागु पर्वको मौका छोपेर उनीमाथि समाचार लेखेकै कारण तस्कर समूहले सांघातिक आक्रमण गराएको हुन सक्ने नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष राजेश कर्णले बताए। उनले भने,‘ एक दशकअघि होलीकै माहौलमा जनकपुरमा सञ्चार उदमी अरुण सिंघानीयाको हत्या भयो। आफ्ना विरुद्ध समाचार लेखेकै कारण अपराधी मनोवृत्तिका मान्छे वा समूहले होलीको माहौलमा सञ्चारकर्मीहरूको ज्यानसम्म लिएको घट्नाहरू छन्’, अध्यक्ष कर्णले भने, ‘सीमा क्षेत्रमा तस्करी हुन्छ। त्यस बिरुद्ध पत्रकारहरूले समाचार लेख्छन्। तस्करहरूले पत्रकारहरूलाई निशाना बनाउने गरेको छ। ’त्यसैले पत्रकार चौधरीमाथि त्यस्ता समूहले आक्रमण गरेको वा गराएको हुन सक्ने भन्दै उनले थपे, ‘ सांघातिक आक्रमणको घटनालाई प्रहरीले फरक-फरक कोणबाट अनुसन्धान गर्नु पर्छ।’फरार रहेकाहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लले जानकारी दिए। घटना भएकै दिन गाउँलेहरूले भारतको मधुवनीका संजीत मण्डललाई पक्राउ गरेर बुझाएका थिए।