जलेश्वरटुडे समाचारदाता
पर्सा, २९ फाल्गुण
महायज्ञमा दलित समुदायसंग विभेद भएको भन्दै वीरगञ्जमा प्रदर्शन भएको छ । वीरगञ्ज महानगरपालिका–१७ अलौमा ८ देखि १७ चैतसम्म हुने महायज्ञको तयारीका क्रममा दलित समुदायलाई विभेद गरिएको भन्दै वीरगञ्जमा प्रदर्शन गरेका हुन् । पूजा समितिले दलित समुदायलाई पूजामा सहभागी हुन नदिने भनेर छुवाछुतको विभेद गरेको उनीहरुले बताएका छन् । जिल्ला प्रशासन कार्यालय पर्सा बाहिर उनीहरुले दलितले मन्दिरमा जान मिल्दैन ?, दलित समुदायमाथि अत्याचार, दलितले मन्दिरमा पूजा गर्न किन मिल्दैन ? भेदभाव गर्न पाईदैन लगायतका नारा लेखिएको प्ले कार्ड सहित प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी खुबलाल महराले पूजामा बस्न नदिने भनेपछि विरोधमा उत्रिएको बताए । गाउँमा समस्या समाधान नहुने देखेपछि जिल्ला प्रशासन कार्यालय पर्सामा न्याय माग्न आएको उनले बताए । पूजाका लागि रमेश चौधरीको संयोजकत्वमा ३५ सदस्यीय समिति बनाइएको छ । समितिमा सुरुमा दलित समुदायको समेत नाम राखिएकोमा पछि हटाइएको उनीहरुको आरोप छ ।