नेपालको उपराष्ट्रपतिमा रामसहाय यादव विजयी – Jaleshwortoday

नेपालको उपराष्ट्रपतिमा रामसहाय यादव विजयी

 ३ चैत्र २०७९, शुक्रबार २०:२४  
dd

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ३ चैत्र

नयाँ उपराष्ट्रपतिमा सत्ता गठबन्धनका उम्मेदवार रामसहायप्रसाद यादव विजयी भएका छन्। उनी जसपाका दुई उम्मेदवारमध्ये एक हुन्।

यादवले उपराष्ट्रपतिका अर्का उम्मेदवार एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पराजित गरे । यादवले ३० हजार ३ सय २८ मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी शाक्यले १६ हजार ३२८ मतभार पाइन् । अर्की उम्मेदवार जनमतकी ममता झाले २५ सय ३७ मतभार ल्याइन् ।

प्रदेश सभा सदस्यमा यादवले ३२९, शाक्यले १६९, झाले – १५ र प्रमिलाले १ मत प्राप्त गरे । यसैगरी, संघीय संसदअन्तर्गत यादवले १८४, शाक्यले १०४ र झाले २३ मत प्राप्त गरेका छन् ।

गत मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका यादव सधैं जसपा अध्यक्ष उपेन्द्र यादवको सारथी बन्दै आएका थिए ।

२०२७ सालमा जन्मेका यादवको राजनीति नेपाल सद्भावना पार्टीबाट सुरु भएको हो । २०६० पछि तत्कालीन मधेसी जनअधिकार फोरममा प्रवेश गरी सक्रिय राजनीति थाले उनी राजनीतिमा आउनु अघि शिक्षण पेशामा थिए ।

पार्टी अध्यक्ष उपेन्द्र यादवका विश्वास पात्र रहेको रामसहाय उपराष्ट्रपति बनेपछि बारा क्षेत्र नम्बर २ मा सांसद पद रिक्त भएको छ । त्यहाँबाट उपेन्द्रलाई उम्मेदवार बनाएर संसदमा प्रवेश गराउने उद्देश्य अनुसार नै रामसहायलाई उपराष्ट्रपति बनाइएको चर्चा छ ।

०६४ मा संविधानसभा सदस्य भएका रामसहाय अशोक राई नेतृत्वको संघीय समाजवादी र मधेसी जनअधिकार फोरम एकता भएपछि बनेको संघीय फोरमको महासचिवसमेत भएका थिए ।

०७४ को निर्वाचनमा प्रतिनिधिसभामा विजयी यादव २०७८ मा वन तथा वातावरणमन्त्री बनेका थिए । यसअघि पनि उपेन्द्र यादवकै पार्टीबाट परमानन्द झा पहिलो उपराष्ट्रपति निर्वाचित भएका थिए ।