एकडारा गाउंपालिकामा कामै नभई ३७ लाख स्वाहा – Jaleshwortoday

एकडारा गाउंपालिकामा कामै नभई ३७ लाख स्वाहा

 २१ कार्तिक २०७७, शुक्रबार २३:०६  
Ekdara

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २१ कार्तिक

महोत्तरीमा कामै नगरिएको एक योजनामा लाखौ रुपैँया भुक्तानी दिएको पाइएको छ । महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरको संसदीय बिकास कोषको रकमबाट कामै नगरी पोखरी सौन्दर्यीकरणको भुक्तानी दिइएको खुलेको हो । बेहडा गाउँमा रहेको साहुजी पोखरी निर्माण तथा जिर्णाेद्धारका लागि सांसद ठाकुरको संसदिय विकास कोषबाट ५० लाख रुपैँया छुट्टयाईएको थियो । आर्थिक वर्ष २०७६÷०७७ मा पोखरी सौन्दर्यीकरण तथा जिर्णाेद्धारका लागि गाउँपालिकाले १० लाख ५० हजारको खर्चमा डिपिआर तयार गरी थालेको थियो । पोखरी निर्माणका लागि गाउँपालिकाले राज इन्टरप्राइजेजसँग मूल्य अभिवृद्धि करबाहेक ४० लाख ८७ हजार ८ सय ९३ रुपैयाँमा २०७७ असार ८ गते सम्झौता गरेको थियो। सम्झौता अनुसार असार २८ भित्र काम सक्नुपर्ने थियो। तर ठेकेदारले कामै नगरी ३७ लाख ८ हजार ५ सय ८६ रुपैयाँ भुक्तानी लिइसकेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ। मध्य वर्षाका बेला गाउँपालिकाले पोखरी सौन्दर्यीकरणका लागि ठेकेदारसँग सम्झौता गर्नु शंकास्पद भएको सरोकारवाला बताउँछन्। स्थानीय रामस्नेही मण्डलले भने, ‘४० लाखको काम सकाउन २० दिनको समय आफैंमा नीतिगत भ्रष्टाचार हो। एउटा सामान्य मानिसले समेत आकलन गर्ने कुरा हो।’ एकडारा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद ठाकुरसँग यसबारे जिज्ञासा राख्दा उनले जवाफ दिन मानेनन्। एकडारा गाउँपालिका–५ का वडाध्यक्ष शेराजुल अन्सारीले आफूलाई पोखरी ठेक्का सम्बन्धमा केही जानकारी नरहेको प्रतिक्रिया दिए । गाउँपालिका अध्यक्ष रामछबिला साहले समेत जवाफ दिन पन्छिँदै पोखरी मर्मत सम्भारको काम गाउँपालिकाको योजना नभएको बताए ।