
जलेश्वरटुडे समाचारदाता
धनुषा, ४ फाल्गुण
तराई मधेश लोकतान्त्रिक पार्टीसहित पाँच राजनीतिक दलबीच कार्यगत एकता हुन लागेको छ ।
तराई मधेश लोकतान्त्रिक पार्टीसहित नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र राष्ट्रीय सद्भावना पार्टीले ‘लोकतान्त्रिक मधेशी मोर्चा’को रुपमा एकजूट हुने निर्णय गरेको हो ।
शनिबार तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा पाँचै दलका शिर्ष नेताहरूको बैठकले यस्तो निर्णय गरेको तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य उमेश मण्डलले जानकारी दिए ।
बैठकमा तमलोपा अध्यक्ष वृषेशचन्द्र लाल र वरिष्ठ नेता डा. विजयकुमार सिंह, नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतो, नेपाल लोकतान्त्रिक पार्टीका सह–अध्यक्ष सुरेशकुमार गुप्ता, ऐतिहासिक जनता पार्टीका अध्यक्ष बद्रीनारायण ठाकुर र राष्ट्रिय सद्भावना पार्टीका महासचिव रविन्द्र प्रसाद सिंहलगायत बिभा ठाकुर, सतीश लाल दास, रविशंकर लाल (सुभाष कर्ण), उमेशकुमार मण्डल, नागेन्द्र सिंह, सरोजकुमार मिश्र लगायतका नेताहरू उपस्थित थिए ।
शनिबारको बैठकमा तमलोपाका वरिष्ठ नेता डा. विजयकुमार सिंहले कार्यदलले तयार गरेको ‘लोकतान्त्रिक मधेशी मोर्चा’ को साझा अवधारणा–पत्र प्रस्तुत गरेका थिए ।
बैठकले ‘लोकतान्त्रिक मधेशी मोर्चा’को साझा अवधारणा–पत्र चैत १३ गते जनकपुरधाममा सार्वजनिक गर्ने निर्णय गरेको छ । नेपाल लोकतान्त्रिक पार्टीले पार्टीभित्र छलफल गरी अन्तिम निर्णय लिन बाँकी रहेपनि साझा अवधारणामा राखिएका विषयसँग आफूहरू सहमत रहेको जनाएको छ ।
तमलोपाका केन्द्रीय सदस्य उमेशकुमार मण्डलले यी पाँच दल एकै स्थानमा आउनु मधेस मुद्दाको निमित्त सुखद खबर भएको बताएका छन् ।