कलैया उपमहानगरपालिकामा किसानको प्रदर्शन – Jaleshwortoday

कलैया उपमहानगरपालिकामा किसानको प्रदर्शन

 ७ चैत्र २०७९, मंगलवार २२:१५  
gg

जलेश्वरटुडे समाचारदाता
वीरगञ्ज, ७ चैत्र

बाराका तरकारी किसानले मंगलबार कलैया उपमहानगरपालिकाको कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका छन् । झण्डै एक सयको संख्यामा भेला भएका किसानले उपमहानगरपालिकाको कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका हुन् ।

कलैया बजारमा किसानलाई सेड उपलब्ध गराउन र नगर प्रहरीले जफत गरेको तरकारीको क्षतिपूर्ति दिनुपर्ने माग उनीहरुले राखेका थिए । सेडमा ठाउँ नभएपछि कलैया बजारमा बेच्न राखेको हरियो सागसब्जी तथा तरकारी नगर प्रहरीले जफत गरेको उनीहरुको भनाइ छ ।

जफत गरिएको तरकारी किसानलाई बेलैमा फिर्ता दिनुको साटो कुहाएको उनीहरुको गुनासो छ । यसबाट किसानलाई १ लाख भन्दा बढीको क्षति भएको अनुमान छ । उनीहरुका अनुसार नगर प्रहरीले ३ चैतमा ५० जना जति किसानले बिक्रीका लागि राखेको तरकारी जफत गरेको थियो ।

कलैया उपमहानगरपालिका–८ का रोहित चौरसियाले उपमहानगरले किसानलाई क्षतिपूर्ति दिनुको साटो कुहिएको तरकारी लगेर बेच्न भनिरहेको बताए ।

‘सेड व्यापारीलाई दिएका छन्, हामी किसानलाई तल राखेर तरकारी बेच्न भने, तर नगर प्रहरीले उठाएर ल्याइदियो । पहिला क्षतिपूर्ति दिन्छु भन्थे तर अहिले त्यही तरकारी लगेर बेच भनिरहेका छन्,’  उनले भने, ‘नगर प्रमुखले ७ गतेसम्म सेड खाली गरेर दिन्छु, जफत गरिएको तरकारीको क्षतिपूर्ति दिन्छु भन्थे, अहिले त त्यही कुहिएको तरकारी लगेर बेच भन्दैछन् ।’

उपमहानगरले यसरी किसानलाई दुःख दिने हो भने खेतीपाती छोड्नुपर्ने अवस्था आउने उनको भनाइ छ । ‘सेडमा सबै किसानका लागि ठाउँ पुग्दैन, बिसनपुर, शीतलपुर लगायत तीन चार गाउँका किसान मिलेर बसेका थियौं । अब त त्यो पनि छैन । तल बसेर बेचौं भने नगर प्रहरीले उठाउँछ,’ उनले भने, ‘किसानले के गर्ने ? हामी खेतीपाती छोडिदिउँ ?’

किसानको मागको सुनुवाइ नभए थप आन्दोलनका कार्यक्रम अघि सार्ने चेतावनी उनीहरुले दिएका छन् ।

मेयर विनोद साहले समस्या समाधानका लागि वार्ता गर्ने बताएपछि प्रदर्शनमा उत्रिएका किसानहरु फर्केका छन् ।