
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १२ चैत्र
नेपाली कांग्रेस महोत्तरीले पदयात्रा सुरु गरेको छ । शनिबारदेखि संगठन सुदृढीकरणका लागि ‘नेपाली कांग्रेसको सहयात्रा जनजनको लागि पदयात्रा’ अभियान सुरु गरेको छ । नेपाली काग्रेसका महोत्तरी सभापति नागेश्वर यादवको नेतृत्वमा ५० जना नेताहरु जिल्लाको १५ स्थानीय तहको एक सय ३२ गाउँटोल जाने योजना सहित खयरमाराबाट पदयात्रा सुरु गरेका छन् । संगठन सुदृढीकरणका लागि शनिबार देखि सुरु भएको पद यात्रा १५ दिन सम्म चल्ने सभापति यादवले बताए ।
खरमारमा पदयात्रीहरुलाई पार्टीका नेता कार्यकर्ताहरुले फूलमाला लगाएर बिदाइ गरेका छन् । नेपाली कांग्रेसका नेता बजरंग नेपालीले पार्टीका नेता कार्यकर्तामा उर्जा बढाउन, समन्वय–सहकार्य गरी नेता कार्यकर्ता तथा जनता बीच आत्मीयताका लागि पद यात्रा सुरु गरेको बताए । जिल्लाको १५ स्थानीय तहमा पुग्ने मार्ग र दिन निर्धारण गरी चैत्र ११ गते देखि सुरु भएको पद यात्रा २५ गते जलेश्वर पुगेर टुंगिने छ । ‘पद यात्रामा सहभागी नेताहरुलाई हरेक वडाका नेताहरुले आफ्नो वडामा संगै यात्रा गर्ने छन्,’उनले भने । मधेशमा बढदै गएको गर्मीलाई मध्यनजर गर्दै जिल्ला तहको पद यात्रा पछि निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, स्थानीय तह र वडा तहसम्मका छुट्टाछुट्टै पदयात्रा गर्ने तयारी छ । महोत्तरीमा कांग्रेसको संगठनलाई सक्रिय बनाउने योजना रहेको नेपालीले बताए ।
पदयात्रामा सहभागी नेता कार्यकर्तालाई शुभकामना दिंदै नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले महोत्तरीको अभियानले राजनीतिमा बढेको वैमनश्यता हटाएर कांग्रेसले कांग्रेसलाई र जनतासंग जोडने बताए । ‘पदयात्राले राजनीतिमा कांग्रेस र कांग्रेसले नै मुलुक बनाउने सन्देश दिएको छ,’उनले भने,‘खैरमारा देखि जलेश्वर सम्म पैदल यात्राको क्रममा संगै बस्ने, खाने र संगै रात बिताउँदा आपसी सदभाव बढाउने छ ।’ फरक फरक ठाउका नेताहरुको १५ दिन सम्म संगैको बसाईले पार्टी भित्रको द्वन्द्व समेत अन्त्य हुने विश्वास गरिएको छ । यात्राले एकले अर्कालाई नजिक बाट बुझने र पार्टीको गतिविधि बढाउन सहयोग पुग्ने छ ।
महोतरीबाट सुरु भएको पद यात्रा मधेश प्रदेशको आठ वटै जिल्लामा सुरु गरी कांग्रेसको गाउ तहको संगठन सक्रिय बनाउने यादवले बताए । महोतरीको पदयात्रा पछि सप्तरीको कोशी देखि पर्साको ठोरी सम्मको पदयात्राको तयारी गरिने यादवले बताए । पदयात्रा आरम्भ कार्यक्रममा प्रदेश सांसदहरु शेषनरायण यादव, संजय महतो, कुमरकान्त झा, लोहारपट्टीका मेयर शैलेन्द्र यादव, मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो लगायत धनुषा महोतरीका नेता तथा कार्यकर्ता सहभागी भएका थिए ।