जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १५ चैत्र
महोत्तरीको जलेश्वर नगरपालिका अन्तर्गत वडा नं.— १ क्याम्पस रोडमा अवस्थित श्री सल्हेश महाराजको पुजा तथा मसौथा मेलाको आयोजना हुने भएको छ । श्री सल्हेश युवा क्लबको आयोजनामा संचालन हुने श्री सल्हेश महाराजको पुजा तथा मसौथा मेलाको अवसरमा शोभा कलश यात्रा चैत्र ३० गते बिहिबार निकालिने पुजा समितिको अध्यक्ष तथा वडा नं. ९ को वडाध्यक्ष विशाल कुमार पासवानले जानकारी गराउनु भयो । पुजा तथा मेलाको अवसरमा थप आकर्षणको लागि २०८० साल बैशाख १ र २ गते अजय अश्गरुवा र पुजा मण्डलको साँस्कृतिक कार्यक्रम तथा बैशाख ३ गते आइतबार कुमर बृजमान मोरहा रुर्दौलीको विजय मण्डलको नेतृत्वमा नाटक समेतको आयोजना हुने समितिले जानकारी गराए । ४ दिने पुजा तथा मेलाको शोभा बढाई दिनको लागि सम्पूर्ण नगरवासी तथा जिल्लाबासीहरुलाई अध्यक्ष पासवानले आग्रह गर्नु भएको छ । श्री सल्हेश महाराज पासमान जातिको कुल देवताको रुपमा मानिन्छ । प्रत्येक वर्ष यस जातिका समुदायले विभिन्न कार्यक्रमहरु गरी श्री सल्हेश महाराजको पुजा गर्ने गर्दछन् । वि.स. १३२५ तिर नै महाराजा सल्हेशलाई विरता,साहस,स्नेहको प्रतिक तथा भगवानको रुपमा समेत मान्ने गरेको ईतिहास छ । आज उनको सम्बन्धमा विभिन्न देश तथा विद्वानहरुले खोज तथा अनुसन्धान समेत गर्न थालेका छन् । वहाँको वारेमा नेपाल तथा भारतमा समेत विभिन्न ऐतिहासिक प्रमाणहरुको अध्ययन तथा अनुसन्धान थालिएका छन् ।