भूमिहिन दलित,भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासको जग्गा धनीले लालपुर्जा पाउँने – Jaleshwortoday

भूमिहिन दलित,भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासको जग्गा धनीले लालपुर्जा पाउँने

 २० चैत्र २०७९, सोमबार २१:४४  
hh

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २० चैत्र

नेपाल सरकारले राष्ट्रिय भूमि आयोगको सहकार्य तथा स्थानिय सरकारको सहयोगमा भूमिहिन दलित,भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासको जग्गा धनीले लालपुर्जा पाउँने भएको छ ।
महोत्तरीको बलवामा बलवा नगरपालिकाको आयोजना तथा राष्ट्रिय भूमि आयोगको सह—आयोजनामा संचालित १ दिने भूमिहिन दलित,भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासको जग्गा वितरण सम्बन्धी अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रममा प्र्रमुख अतिथि तथा जिल्ला समिति महोत्तरी जलेश्वरको अध्यक्ष दान बहादुर गोलेले तराई मधेसमा भूमिहिन दलित तथा भूमिहिन सुकुम्बासीले बसोबासयोग्य जमिन ७.७५ धुर वा कृषियोग्य जग्गा १ कठा लालपुर्जाको सहितको प्रमाणपत्र पाउने तथा अव्यवस्थित बसोबासको जग्गाको ( ८—२००) गुणा जग्गाको न्यूनतम मुल्याँकनले हुने रकम तिरेर बढीमा १८ महिना र कममा स्थानिय सरकारको पहलमा लालपुर्जा दिइने बताउनु भयो । अध्यक्ष गोलेले स्थानिय सरकारले आवश्यक प्रक्रिया एक महिनामै पुरा गरे हामीले एक महिना भित्रै लालपुर्जा दिन तयार छौं वहाँले बताउनु भयो ।
कार्यक्रमको अध्यक्षता गर्दै बलवा नगरपालिकाको नगर प्रमुख राम विजय महतोले पछिल्लो समयमा भूमिहिन सुकुम्बासीसँग भएको धोका यसपालि नहोस तथा हुकुमबासी होइन सुकुम्बासीले छिट्टै जमिन पाओस भन्ने धारणा राख्नु भएको थियो । त्यसैगरी विशेष अतिथि तथा नगर उपप्रमुख राम दुलारी देवीले भूमिहिन सुकुम्बासीलाई यसरी राज्यले देखाएको दया तथा ममताको कदर गर्दै राष्ट्रिय भूमि आयोगको समेत प्रशंसा गर्नु भएको थियो ।
कार्यक्रममा सहजकर्ता तथा विशेष जानकारी दिने भूमिका नापि कार्यालयको प्रमुख तथा जिल्ला समितिको सचिव तथा अतिथि राकेश कुमार झाले निर्वाह गर्नु भएको थियो । सचिव झाले महोत्तरीको १५ वटा स्थानिय तहहरु मध्ये बलवा सकाएर तीन वटा पालिकाहरुमा मात्र अभिमूखिकरण कार्यक्रम गर्न बाँकी रहेको तथा अन्य पालिकाहरुले भूमिहिन सुकुम्बासीहरुको लागि धेरै पहल गरि सकेको जानकारी गराउनु भयो । साथै वहाँले हुकुमबासी वा झुठो विवरण देखाई भूमिहिन सुकुम्बासीको फाराम भर्नेलाई पचिस हजार तथा पछि फेला परे जमिन जफ्त गरिनुको साथै १ वर्ष जेल तथा पचिस हजारसम्मको जरिवाना रहेकोले वास्तविक भूमिहिन दलित तथा सुकुम्बासीलाई पहिचान गर्न गराउन सहयोग गरिदिन सम्पूर्ण जनतासँग आग्रह समेत गर्नुभयो ।
सो कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार ठाकुर,बनौटा सशस्त्र कैम्पको ईन्सपेक्टर नर बहादुर बस्नेत तथा जिल्ला समिति सदस्य फेकु यादवलाई अतिथिको रुपमा आसन ग्रहण गराइएको थियो । कार्यक्रममा एकदेखि एघार वडासम्मको वडाध्यक्ष,सदस्यहरु,राजनितिकर्मी,नागरिक समाज,कर्मचारी,पत्रकारको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन तथा उद्घोषण महावीर यादवले गर्नु भएको थियो ।