जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २१ चैत्र
अमेरिकाले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता खेल्ने भएको छ । नामिबियामा भइरहेको क्वालिफायर प्लेअफमा मंगलबार जर्सीलाई २५ रनले पराजित गर्दै अमेरिकाले जिम्बावेमा हुने विश्वकप छनोटको टिकट पक्का गरेको हो ।
६ टोली सहभागी क्वालिफायर प्लेअफबाट शीर्ष दुई टोली मात्र विश्वकप छनोटमा पुग्नेछ । चार टिमले अन्तिम खेल खेल्नुअघि अमेरिकाले ८ अंकसहित दुई टोलीमा पर्ने पक्का गरेको छ । किनकी मंगलबार भएको आफ्नो
अन्तिम खेलमा क्यानडालाई १११ रनले पराजित गरेको घरेलु टोली नामिबिया ६ अंकहित दोस्रो स्थानमा छ । समान अंकका साथ तेस्रो स्थानमा रहेको युएईको एक खेल बाँकी छ भने बाँकी ३ टिमको शीर्ष दुई सम्भावना छैन ।
अब बुधबार हुने खेलले क्वालिफायर प्लेअफबाट विश्वकप छनोट खेल्ने अन्तिम टोलीको टुंगो हुनेछ । भोलि बुधबार युएई र जर्सी तथा क्यानडा र पपुवा न्युगिनीबीच खेल हुनेछ । यदि युएईले अन्तिम खेल जितेमा युएई विश्वकप छनोटमा पुग्नेछ । युएई जर्सीसँग पराजित भएमा भने नामिबिया भाग्यमानी बन्नेछ ।
क्यानडा ४ खेलबाट ४ अंकसहित चौथो स्थानमा छ भने २ अंक जोडेको जर्सी पाँचौ स्थानमा छ । चारै खेलमा पराजित भएको पपुवा न्युगिनी अंकविहीन छ र ओडिआई मान्यता गुमाइसकेको छ ।
लिग टूमा अन्तिम दुईमा परेसँगै युएई र पपुवा न्युगिनीको ओडिआई मान्यता खतरामा परेको थियो । त्यसमध्ये युएईले क्वालिफायर प्लेअफबाट ओडिआई मान्यता जोगाउने पक्का छ ।
क्वालिफायर प्लेअफको अन्तिम दिनको खेलपछि क्यानडा वा जर्सी मध्ये थप एक टिमले ओडिआई मान्यता पाउनेछ ।
क्वालिफायर प्लेअफको अन्तिम दुई स्थानमा रहने टिमले अर्को साइकलमा च्यालेन्ज लिग खेल्नुपर्नेछ ।