रेल संचालनका लागि २ सय ३४ कर्मचारीको आवश्यकता – Jaleshwortoday

रेल संचालनका लागि २ सय ३४ कर्मचारीको आवश्यकता

 ३० चैत्र २०७९, बिहीबार २१:३६  
hh

नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगरदेखि बर्दिवाससम्म रेल संचालनका लागि २ सय ३४ कर्मचारीको आवश्यकता रहेको भन्दै यातायात व्यवस्था मन्त्रालयलाई प्रस्ताव गरेको छ ।

केही दिन अघि मात्रै नेपाल रेल्वे कम्पनीले गरेको संगठन संरचना तथा कर्मचारी दरबन्दीको सर्वेमा बर्दिवासदेखि जयनगरसम्म रेललाई व्यवस्थित रुपमा संचालन गर्न २ सय ३४ जना कर्मचारीको आवश्यकता रहेको प्रतिवेदन तयार गरेको थियो । उक्त प्रतिवेदन नेपाल रेल्वे कम्पनीले यातायात व्यवस्था मन्त्रालयलाई पठाइसकेको छ । प्रतिवेदनमा रेल चालकसहित ८ जना सहचालकको आवश्यकता रहेको उल्लेख छ । त्यसै गरी प्रतिवेदनमा ईन्जिनियरदेखि रेल्वेमा काम गर्ने हरेक पदका कर्मचारीको संख्या उल्लेख गरी पठाइएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । तर अहिले सम्म उक्त प्रतिवेदनको विषयमा मन्त्रालयले कुनै प्रक्रिया अगाडि नबढाएकोले सो प्रतिवेदन अहिले सार्वजनिक गर्न नमिल्ने नेपाल रेल्वे कम्पनीका एक कर्मचारीले बताए ।

अहिले नेपाल रेल्वे कम्पनीले कुर्थादेखि जयनगर सम्म दैनिक दुई पटक सेवा दिँदै आएको छ भने आगामी वैशाखदेखि सो सेवामा थप दुई पटक सेवा विस्तार गर्ने जनाएको छ । हालको रेल्वे सेवालाई जयनगरदेखि बर्दिवाससम्म पु¥याउने लक्ष्य रहेकोले त्यत्तिकै संख्यामा कर्मचारीको प्रस्ताव गरिएको ती कर्मचारीले बताए ।