
राकेश प्रसाद चौधरी
जलेश्वर, १ बैशाख
ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य बीमा हुने प्रावधानबारे उचित प्रचारप्रसार हुन नसक्दा यस सेवाबाट बंचित हुनेको संख्या अत्याधिक छ ।
‘शुल्क वा निशुल्क स्वास्थ्य बीमा गराइसकेका बाहेकको नागरिकहरूलाई यस्तो प्रावधानबारे जानकारी गराउने जिम्मेवारी स्थानीय तह हुनुपर्ने हो,’स्वास्थ्य बीमा दर्ता सहयोगी नगर समिति जलेश्वरका संयोजक सतिश चन्द्र लाल कर्णले भने,‘हामीले मौखिक रूपमा भन्नु भन्दा वडा र पालिकाको सूचनाले प्रभावकारी भूमिका खेल्न सक्छ ।’
महोत्तरी जिल्लाका कुन पालिकामा कति जना ज्येष्ठ नागरिकले निशुल्क स्वास्थ्य बीमा गराएको वा कति परिवारले सशुल्क बीमा गराइसकेको तथ्यांक सार्वजनिक हुन सकेको छैन । स्वास्थ्य बीमा बोर्ड महोत्तरी सम्पर्क कार्यालय बर्दिवासका दर्ता अधिकारी श्रीराम महतोले आफूहरूसँग कुन पालिकाको कति जनाको स्वास्थ्य बीमा भइसकेको र कति जनाले लाभ लिएको बारे जानकारी नरहेको बताए ।
ज्येष्ठ नागरिकले दर्ता सहयोगी मार्फत फारम भरेर निशुल्क स्वास्थ्य बीमाको सुविधा लिन सक्ने ब्यबस्था छ । यस योजनामा सहभागी हुने हरेक ज्येष्ठ नागरिक एकलाख रुपैया सम्मको उपचार सुविधा पाउने गर्छन् । त्यस्तै तीन हजार पाँच सय शुल्क तिरेर परिवारका पाँचजना सदस्यले उपचारमा एक लाख रुपैया सम्मको सुविधा लिन सक्ने ब्यबस्था छ । पाँच जना बाहेक थप प्रति ब्यक्ति सात सय रुपैया तिरेमा प्रति ब्यक्ति २० हजार रुपैयासम्मको सुविधा थप हुँदैजान्छ । ज्येष्ठ नागरिक सशुल्क सुविधामा समेत सहभागी भए उपचारमा थप सुविधा पाउन सक्ने देखिएको छ । महतो भन्छन्,‘कुन कारणले स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन नागरिक अनिच्छुक छन् भन्नेबारे सोधखोज गर्ने जिम्मेवारी स्थानीय तहको पनि हो ।’
अधिकांश पालिकाको स्वास्थ्य शाखाहरू मात्र नभई स्थानीय स्तरका अस्पतालहरु समेत यस विषयमा गम्भिर नदेखिएको आरोप दर्ता सहयोगीहरुको छ । यदी पालिका र वडा कार्यालय एवं स्थानीय अस्पतालहरुले यस विषयको गंभिरताबारे पहल गरे स्वास्थ्य बीमा कार्यक्रम निकै प्रभावकारी हुने देखिएको छ । दर्ता सहयोगी किरण पासवान भन्छिन्,‘उमेर खुल्ने कागजात दिन पनि यहाँका नागरिक आनाकानी गर्छन् । सुविधाबारे बुझे पनि बीमा गराउन तत्परता देखाउँदैनन् ।’
नगर समिति संयोजक कर्ण भन्छन् ,‘स्थानीय अस्पताल एवं प्रादेशिक अस्पतालमा बीमा कार्डबाट पूर्जा काट्न कर्मचारीहरु नै समस्या उत्पन्न गर्छन । यो बीमा हेर्ने कर्मचारीको काम हो बिरामीहरुलाई हकार्ने गरेको गुनाँसो आउने गर्छ । अन्य ठाउँको अस्पतालमा बीमाको कार्ड छ भन्दै माग्ने गर्छन, हामी कहाँ ठिक उल्टो छ ।’