ओमानमाथि नेपालको कीर्तिमानले भरिएको जित – Jaleshwortoday

ओमानमाथि नेपालको कीर्तिमानले भरिएको जित

 ८ बैशाख २०८०, शुक्रबार २३:५२  
ee

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ८ बैशाख

कीर्तिमानै कीर्तिमान बनेको खेलमा नेपालले ओमानमाथि ८४ रनको सानदार जित हात पारेको छ । लगातार दोस्रो जितसँगै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।

शुक्रबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अहिलेसम्मकै उच्च ३१० रनको योगफल खडा गर्यो । कुशल मल्लले सानदार शतक, अनि सोमपाल कामीले अर्धशतक बनाएपछि ओडीआई (एकदिवसीय अन्तर्राष्ट्रिय) मा आफ्नो अहिलेसम्मकै उच्च स्कोर बनायो । यसअघि मार्चमा भएको लिग टूमा पपुवा न्युगिनीविरुद्ध २९७ रन बनाएको थियो ।

जवाफमा ओमानले ४६.३ ओभरमा ९ विकेट गुमाएर २६६ रन मात्र बनाउन सक्यो ।

खराब सुरुवात, तर कुशलको रेकर्ड

आफ्नो ५०औं ओडीआईमा नेपालको सुरुवात निकै खराब थियो । ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल शून्यमा आउट हुँदा नेपालले खाता नै खोल्न सकेको थिएन । कुशल भुर्तेललाई तेस्रो ओभरमा बिलाल खानले एलबीडब्लु धरापमा पारे भने आसिफलाई कलिमुल्लाहले चौथो ओभरमा बोल्ड गरे ।

पहिलो चार ओभरमा कुनै रन जोड्न नसकेको नेपालले २८औं बलमा बल्ल रनको खाता खोलेको थियो । तर ०–२ को अवस्थाबाट ३१०/८ मा इनिङ सकायो, जुन आफैंमा रेकर्ड हो । यसक्रममा कुशल मल्लले करियरको पहिलो शतक बनाए ।

त्यसअघि भीम सार्की र कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय (५४) साझेदारी गर्दै नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए। १८औं ओभरमा रोहित ३४ बलमा २३ रन बनाएर आउट भए । भीम पनि २०औं ओभरमा आउट भए । ५६ बलको सामना गरेका उनले व्यक्तिगत ३३ रन जोडेका थिए ।

नेपालको स्कोर ७२/४ रहेको बेला क्रिजमा पुगेका कुशलले आरिफ शेखसँग मिलेर इनिङ्स सम्हाले । दुवैले पाँचौं विकेटका लागि ७५ रनको साझेदारी गरे । आरिफ ४३ बलमा २९ रन बनाएर आउट भए । कुशल भने क्रिजमा जमिरहे ।