जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १२ बैशाख
महोत्तरीको जलेश्वर नगरपालिका क्षेत्रका आम जनताले साविकमा उपभोग गरिरहेका सेवा सुविधामा कुनै अवरोध नहुने गरी आवश्यक निर्देशन तथा कारवाहीका लागि ज्ञापन पत्र बुझाएका छन् ।
जलेश्वरबासीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ज्ञापन पत्र पठाएका हुन् ।
जलेश्वर नगरपालिका क्षेत्रका आम नागरिकको जीवनयापनका लागि दैनिक उपभोग तथा विवाह, व्रतबन्ध, पूजापाठ, श्राद्ध कर्मका लागि चाहिने सामग्री विगत पूर्वकालदेखि भारतबाट व्यापारिक प्रयोजन बाहेक व्यक्तिगत उपभोगका लागि ल्याउने मालसामानमा कुनै पनि किसिमको अवरोध नहुने गरी प्रमुख जिल्ला अधिकारीको रोहवरमा सर्वदलिय सर्वपक्षिय उद्योग वाणिज्य संघ समेत गत चैत १९ गते बैठक बसी साबिकमा भई आएको सुविधामा कुनै अवरोध नगर्ने छलफल भई निष्कर्ष निकालिएको थियो ।
प्रमुख जिल्ला अधिकारीको रोहवरमा भएको छलफलबाट भएको सहमति समेतलाई बेवास्ता गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक प्रकाश मल्लबाट साविकमा दैनिक उपभोगका लागि ल्याउने मालसामानहरु जफत गर्ने, वैध मालसामानहरुलाई अवैध ठहराई भन्सारमा बुझाउने तथा झुठा मुद्धा लगाउने, समुदाय विशेषलाई विभेदकारी व्यहार गर्ने जस्ता क्रियाकलाप गरी जनतालाई दुःख दिने कार्यहरु गरिरहेको ज्ञापन पत्रमा उल्लेख छ ।
परापूर्वकालदेखि नै चलिआएको र निकट भविष्यमा यस नगरमा पाँच वर्षमा हुने संसारी माताको महापूजाका लागि भारतबाट आउने दर्शनार्थी तथा नाता कुटुम्ब समेतबाट लिएर आउने सामग्रीहरुमा अवरोध हुन सक्ने भएकोले नेपाल भारतको बेटीरोटीको सम्बन्धमा पनि असर पर्ने देखिएकोले नगरका सम्पूर्ण बुद्धिजिवी, राजनीतिकर्मी तथा उद्योग वाणिज्य संघको ध्यानाकर्षण भएको र सो समस्याहरुको सामाधानका लागि प्रधानमन्त्रीसमक्ष प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र पठाएका हुन् ।
ज्ञापन पत्र बुझाउन जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार, उद्योग वाणिज्य संघ जलेश्वरका अध्यक्ष लवराजा सिंह, नेपाली कांग्रेसका नगर सभापति अशोक कुमार साह, नेकपा एमालेका नगर अध्यक्ष विजय कुमार सिंह, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष मनोज कुमार साह, जसपाका नगर सचिव अनिल कुमार झा, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष रमन कुमार चौधरी, लोसपाका प्रतिनिधि वलविर गुप्ता, जनमत पार्टीका नगर अध्यक्ष सुरेश ठाकुर लगायतकाहरु सहभागी थिए ।