बालविवाह न्यूनीकरणको लागि सडक नाटक प्रर्दशन – Jaleshwortoday

बालविवाह न्यूनीकरणको लागि सडक नाटक प्रर्दशन

 १३ बैशाख २०८०, बुधबार २१:३३  
ff

नागेन्द्रकुमार कर्ण
महोत्तरी, १३ बैशाख

‘नगरौ विवाहको कुरा, भएको छैन २० वर्ष पुरा’ नाराका साथ जिल्लाका सदरमुकाम जलेश्वरको विभिन्न ठाउँमा बालविवाह न्यूनीकरणको लागि सडक नाटक प्रर्दशन गरिएको छ ।
जलेश्वर नगरपालिकाको सहयोगमा राष्ट्रिय युवा गैर सरकारी संंस्था महासंघ नेपालले सदरमुकाम जलेश्वरको खैरा चोक, महेन्द्र चोक, लक्ष्मीचण्डी मुरारका मावि, पासमान टोललगायतका आधादर्जन भन्दा बढी ठाउँमा बालविवाह न्यूनीकरणमा टेवा पुग्ने उद्देश्यले सडक नाटक प्रर्दशन गरेका हुन् ।
बढी बालविवाह हुने ठाउँ तथा जनचेतना जगाउनको लागि विद्यार्थीहरुको बीचमा सडक नाटक प्रर्दशन गरिएको जानकारी दिनुहुदै आयोजक संस्थाका सचिव राकेश साहले भन्नुभयो, ‘जलेश्वरमा बालविवाह बढी हुने पासमान टोल, खाद्य संस्थानलगायतका ठाउँहरुमा तथा विद्यार्थीहरुमा जनचेतना जगाउनको लागि विद्यालयमा सडक नाटक आयोजना गरिएको हो ।’
बालबालिकाहरूलाई २० वर्षपछि मात्रै विवाह गर्न प्रोत्साहन गर्ने उद्देश्यले बालबालिका र अभिभावकहरूलाई बालविवाहले पार्ने नकारात्मक असर र कानुनी कारबाहीबारेमा सडक नाटक मार्फत जानकारी गराइएको सचिव साहको कथन थियो ।
मनोरञ्जनात्मक तरिकाबाट दिइने जानकारी प्रभावकारी हुने भएकोले बालविवाह न्यूनीकरणको लागि सडक नाटक नै रोजिएको जलेश्वर नगरपालिका वडानं. २ का वडाध्यक्ष बरुण कुमार दाहालले बताउनुभयो । उहाँले बालविवाहको कारण बालक तथा बालिकाको शिक्षा, स्वास्थ्य र उनीहरूको जीवन तथा परिवारमा पर्न सक्ने असरको बारेमा विद्यालयका बालबालिका तथा अभिभावकहरुलाई जानकारी दिने उद्देश्यले सो सडक नाटक प्रदशनी गरिएको बताउनुभयो ।
बालविवाहले शारीरिक, मानसिक, आर्थिक, सामाजिकलगायतका क्षेत्रमा पार्ने असरका बारेमा जानकारी गराउनुका साथसाथै बालबालिकाको अधिकार र बालविवाह गर्दा हुने दण्ड सजायबारेको कानुनी ज्ञान समेत नाटक मार्फत दिइने गरिएको छ ।
कानूनमा ‘बिहेवारी बीसवर्ष पारी’ भन्ने गरिए पनि व्यवहारमा भने यो पूर्णरुपमा कार्यान्वयन हुन नसक्दा विभिन्न स्थानीयतहहरुले बालविवाह न्यूनीकरणको लागि जनचेतनामूलक कार्य गर्दै आएको छ । बालविवाह न्यूनीकरणका लागि स्थानीय सरकारले बालबालिका, अभिभावकबीच प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम, सडक नाटक प्रदर्शन, बालक्लबको गठन र उनीहरुलाई तालिम, बालमैत्री शासन आदि कार्यक्रम गरिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले पनि बालविवाह न्यूनीकरणको लागि सामुदायिक प्रहरी मार्फत बढी बालविवाह हुने डोम, चमार, हलखोरलगायतका जातिका वस्तीमा पुगेर जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।
मुलुकी देवानी (संहिता) ऐन, २०७४ ले केटा केटीको विवाह गर्ने उमेर २० वर्ष तोकेको छ । २० वर्ष नपुगी विवाह गरेमा कसुर गर्ने व्यक्तिलाई तिन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ ।
बालविवाह न्यूनीकरणको लागि जिल्लाको ७ वटा स्थानीय तहमा केही महिनादेखि बालविवाह न्युनिकरण स्थानीय प्रणाली शुद्धिकरण परियोजना समेत शुरु गरिसकिएको छ । जिल्लाको जलेश्वर, मटिहानी, लोहारपट्टी, बलबा र मनरासिशवा नगरपालिका तथा पिपरा र महोत्तरी गाउँपालिकामा उक्त परियोजना चलिरहेको छ । परियोजना अन्तर्गत ७ वटै स्थानीय तहका ४९ वटा विद्यालयमा जीवन उपयोगी शिक्षा तथा व्यवहार परिवर्तन सम्बन्धि थप अध्ययन अध्यापन भइरहेको छ ।