मिर्चैयाका मेयर यादव भ्रष्टाचार गरी अर्बौंको सम्पत्ति जोडेको दाबी, आन्दोलनको तयारी – Jaleshwortoday

मिर्चैयाका मेयर यादव भ्रष्टाचार गरी अर्बौंको सम्पत्ति जोडेको दाबी, आन्दोलनको तयारी

 २१ बैशाख २०८०, बिहीबार ००:१८  
hh

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २० बैशाख

सिरहा मिर्चैयाका स्थानीय तथा अगुवाहरूले नगर प्रमुख श्रवण यादवमाथि आरोपको वर्षा गरेका छन् । नगरपालिकाले घर भत्काइदिएपछि बेघर बनेका मिर्चैया बजारका पीडितहरुका लागि न्यायको अपिल गर्दै काठमाडौँ पुगेका उनीहरू बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी नगर प्रमुख यादवमाथि आरोपै आरोप लगाएका हुन् । उनीहरूले मेयर यादवले भ्रष्टाचार गरी अर्बौंको अकुत सम्पत्ति जोडेको दाबी गरेका छन् । नगर र जनताको हित हुने काम कहिल्यै उनको प्राथमिकतामा नपरेको र भ्रष्टाचार गर्न पाउने काम मात्रै सधैं गरेको उनीहरूको आरोप छ । केही वर्षअघिसम्म सामान्य आर्थिक हैसियत भएका मेयर यादव राजनीतिमा आएपछि अबरपत्ति बन्नुले उनको भ्रष्टाचारी चरीत्र उदांगो भएको उनीहरूको भनाइ छ । मेयर यादवले हरेक काममा कमिसन लिने गरेको र त्यसबाट आउने पैसाले विभिन्न स्थानमा आफन्तहरुको नाममा सम्पत्ति जोडेको स्थानीय एमाले नेता प्रदीप महासेठको दावी छ । नेता महासेठले मेयर यादवको नातेदारका नामका मिर्चैयालगायत विभिन्न स्थानमा जग्गा मात्रै २५ कित्ता रहेको पनि दावी गरे । ‘म २०५४ सालमा गाविस अध्यक्ष हुँदा त्यही श्रवण यादवलाई पियनका रूपमा विद्यालयमा राखेको थिएँ,’ उनले भने, ‘दुई धुर जग्गामा घर बनाएर बस्ने मान्छे अहिले अरबपत्ति भइसकेका छन् ।’ उनले थपे, ‘न उसको छोरा विदेशमा छ, न त उसले कुनै व्यापार गरेका छन्, तर अहिले ऊ अरबपत्ति भइसकेका छन्, यतिले सबै छर्लङ्ग हुन्छ ।’ त्यस्तै, नेपाली कांग्रेसका नेता धनेश्वर यादवले मेयरको सम्पत्ति छानविन गर्न माग गरे । उनले भने, ‘मिर्चैयाका मेयर श्रवण यादवको २०५८/५९ सालदेखि अहिलेसम्मको सम्पत्ति छानविन गर्नुपर्छ । र, उनले कमाएको अकुत सम्पति राज्यको नाममा जानुपर्छ ।’ मेयर यादवले भ्रष्टाचार गरेर अकुत सम्पत्ति जोडेको विषय सबैलाई थाहा भएको र उनीमाथि अख्तियारमा उजुरी चाङ हुँदा पनि सुनुवाइ नभएको मिर्चैया खानेपानीका अध्यक्ष अंजय साहको गुनासो छ । अख्तियार जस्तो संस्था मौन बस्नुले मेयर यादवले सबैलाई पैसामा किनेर राखेको कुरा प्रष्ट देखिएको उनले दावी गरे । अख्तियार अझै चुप बसे अब सशक्त आन्दोलन गर्ने चेतावनी उनको छ । मिर्चैया बजारका घरहरू पनि पैसा नपाउँदा भत्काएको दावी उनीहरूको छ । गाउँब्लकको जग्गालाई सार्वजनिक जग्गा भनी तर्साएर केहि स्थानीयसँग घुस लिएको र नदिनेहरुको घर भत्काइदिएको उनीहरूको आरोप छ । मेयर यादवले मिर्चैया बजारको गाउँब्लकभित्र पर्ने २५६ र ६० नम्बर कित्ताका करिब तीन दर्जन घर अनाहकमा तोडफोड गरिदिएको गुनासो मिर्चैयाका अगुवा हरिकिशोर महतोले गरे । तीन चरणमा घरहरू तोडफोड गरी स्थानीयवासीलाई उठिबास गराएको भन्दै उनले न्याय माग्न जाँदा उल्टै पीडितहरूले भयत्रासको सामना गर्नुपरेको पनि उनले बताए । उनले गाउँब्लकभित्रका स्थानीयलाई तत्काल लालपुर्जा नदिइए काठमाडौँमा धर्ना बस्नेसम्मको चेतावनी दिए । मेयर यादवले आफ्नो आसेपासेका नामका जग्गा कित्ताकाट गर्न लगाएको र भ्रष्टाचार गर्ने नियतका साथ नगरपालिकाभित्रका विभिन्न समितिको नेतृत्व पनि आफैले गर्दै आएको आरोप उनको छ । केही दिनअघि आन्दोलनप्रति ऐक्यबद्धता जनाएको निहुँमा मधेश प्रदेशकी सांसद् भाग्यश्री चौधरीको घरमा आगलागी गराउन खोजेको पनि उनले आरोप लगाए । पत्रकार सम्मेलनमा मिर्चैया उद्योग वाणिज्य संघका सचिव भरत महासेठले मेयर यादवले गाउँल्बकको कित्ताभित्र पर्ने घरहरू तोडफोड गरी बजार क्षेत्रका घरधनीको घर र व्यवसायलाई बर्बाद पारेको दुखेसो पोखे । उनले पीडितसँग तत्काल न्याय नभए आफूहरू सशक्त संघर्षमा उत्रिने चेतावनी दिए । गत माघ २७, फागुन ११ र फागुन १९ गते तीन चरणमा नगरपालिकाले बजार क्षेत्रको गाउँबल्कका कित्ता नम्बर २ सय ५६ र ६० मा पर्ने करिब तीन दर्जन घर तोडफोड गरिदिएको थियो । यही घटनाको विरोधमा मिर्चैया बजार क्षेत्रका स्थानीय करिब दुई महिनादेखि आन्दोलन गर्दै आएका छन् । उनीहरूले आफूहरूमाथि नगरपालिकाले ज्यादती गरेको आरोप छ ।

उनीहरूले जग्गाको लालपूर्जा दिनुपर्ने, क्षतिपूर्ति दिनुपर्ने, आफूहरूमाथि ज्यादती भएकाले छानबिन गरी न्याय दिनुपर्नेलगायतका माग गर्दै आएका छन् । चार वर्षअघि विशेष नापी टोलीद्वारा मिर्चैया बजारको गाउँब्लकका सम्पूर्ण जग्गाको नाम जाँच गरिसकेर यसपटक लालपुर्जा दिने प्रक्रियामा रहेका बेला नगरपालिकाले तोडफोड गरिदिएको थियो ।

नगरपालिकाले बजार क्षेत्र रहेको २ सय ५६ नम्बर कित्तालाई सरकारी जग्गा भन्दै आएको छ । २०२२ तिर भएको नापीमा यो कित्तालाई गाउँ भनेर फिल्डबुकमा भनिएको थियो । जसमा सरकारी, सार्वजनिक र निजी जग्गा रहेका छन् । तर, मालपोत कार्यालयले २०५१ सालमा तत्कालीन कार्यालय प्रमुखको मौखिक आदेशमा श्री ५ सरकारको नाममा गरिदिएको थियो ।

नेपालका धेरै स्थानमा गाउँब्लकका जग्गा सरकारको नाममा गरिदिएको भेटिएपछि २०७५ सालमा संघीय सरकारले राजपत्रमा सूचना नै निकालेर यी जग्गाहरूको श्रेष्ता संशोधन गरी सम्बन्धित जग्गाधनीको नाममा कामय गर्न भनेको थियो । यसका लाागि नापी टोलीले गाउँब्लकमा रहेका सरकारी, सार्वजनिक, निजीलगायत जग्गा नापजाँच गरी श्रेष्ता संशोधनको काम गर्दै आएको छ ।

मिर्चैयामा पनि नापजाँच भएको चार वर्ष बित्यो । तर, मिर्चैयाका मेयर यादवले श्रेष्ता संशोधन प्रक्रिया पूरा गर्न नदिई लालपुर्जा विरतणमा रोक लगाइदिएको स्थानीयको आरोप छ । उनले २ सय ५६ नम्बर कित्ताभित्र रहेको तीन बिगहा १२ कठ्ठा १७ धुर जग्गा सरकारी नै रहेको अडान लिँदै आएका छन् । उनले मालपोत र अदालतले यो कित्ता सरकारी रहेको भनेकाले खाली गराएको भन्दै आएका छन् ।

यही विषयलाई लिएर काठमाडौं आएका मिर्चैयाका स्थानीय अगुवाहरु पछिल्लो तीन दिनदेखि विभिन्न चरणमा प्रधानमन्त्री, गृहमन्त्री, मन्त्रीका साथै सांसद्हरूलाई भेट गरेर मेयरले मच्चाएको भ्रष्टाचार र वितण्डाबारे जानकारी गराएका छन् । उनीहरूले मिर्चैया बजारका पीडितहरुलाई चाँडै न्याय दिने र मेयर यादवमाथि छानविन हुने आश्वासन दिएका छन् ।