
जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २२ बैशाख
देशमा छाएको आर्थिक मन्दीको असर पेट्रोलियम खपतमा पनि देखिएको छ । वर्षैसाल बढ्दो क्रममा रहँदै आएको खनिज इन्धनको आयात चालु आर्थिक वर्षमा १५ प्रतिशतभन्दा बढीले घटेको छ । यसले बजारमा इन्धनको खपत पनि घटेको देखाउँछ ।
यो वर्ष डिजेलको आयात मात्रै एक चौथाइले घटेको छ भने पेट्रोल र हवाई इन्धनको आयात पनि सामान्य दरमा घटेको छ । समग्रमा हवाई इन्धनबाहेक अन्य सबै इन्धनको आयात घट्दो दरमा देखिएको छ । तर, मूल्य वृद्धिका कारण आयातबापत विदेशिने रकमको परिमाण भने उस्तै छ ।
नेपाल आयल निगमकाअनुसार चालु आर्थक वर्ष २०७९/८० मा इन्धनको कुल आयातको परिमाण १६.४४ प्रतिशतले घटेको छ । तर, सबै खालका खनिज इन्धन आयातका लागि खर्च हुने पैसा भने ०.४२ प्रतिशतले बढेको छ ।
गत साउनदेखि १७ वैशाखसम्मको तथ्यांकअनुसार पेट्रोल आयातमा ८.७७ प्रतिशतको गिरावट आएको छ । निगमले यो अवधिमा ५ लाख ३२ हजार २०८ किलोलिटर पेट्रोल आयात गरेको छ । यसअनुसार मासिक औसत ५६ हजार २१ किलोलिटर पेट्रोल खपत भएको देखिन्छ ।
यस्तै डिजेलको आयात परिमाण २६.०९ प्रतिशतले घटेको छ । यो वर्ष कुल १० लाख ३६ हजार ६७ किलोलिटर डिजेल आयात गरेको निगमले मासिक औसत १ लाख ९ हजार ५९ किलोलिटर इन्धन आयात गरेको देखिन्छ ।
मट्टितेल आयात पनि घटेको छ । मट्टितेल आयातमा ४.१२ प्रतिशतले कमी आएको छ । साउनयता ९ हजार ६४ किलोलिटर मट्टितेल आयात हुँदा मासिक औसत ९५४ किलोलिटर मात्रै मट्टितेल भित्रिएको देखिन्छ ।
खाना पकाउने ग्याँसको आयात समेत घटेको छ । यो अवधिमा ग्याँसको आयात ३.१३ प्रतिशतले खुम्चिएको छ । यो अवधिमा कुल ४ लाख ६ हजार ७८५ मेट्रिकटन ग्याँस आयात हुँदा मासिक औसत ४२ हजार ८१९ मेट्रिक टन ग्याँस खपत भइरहेको देखिन्छ ।
हवाई इन्धनको आयातमा भने वृद्धि भएको छ । निगमका अनुसार यो वर्ष हवाई इन्धन आयात १३.६४ प्रतिशतले बढेको छ । यो अवधिमा १ लाख ४१ हजार ३४० किलोलिटर हवाई इन्धन आयात भएको छ । यसअनुसार मासिक हवाई इन्धनको खपत औसत १४ हजार ८७७ किलोलिटर पुगेको देखिन्छ । कोरोना महामारीपछि घटेको हवाई गतिविधि विस्तारै बढ्दै गएकाले हवाई इन्धनको आयात गतवर्षभन्दा बढी देखिएको हो ।
निगमकाअनुसार यो वर्ष मात्रै २ खर्ब २४ अर्ब ५७ करोड ५७ लाख १३ हजार ७२५ रुपैयाँ बराबरको इन्धन आयात भइसकेको छ । यो गतवर्षको यही अवधिको तुलनामा करिब ०.४ प्रतिशतले बढी हो । रसिया–युक्रेन युद्धपछि इन्धनको मूल्य उच्च भएका कारण आयात हुने परिमाण घट्दा पनि विदेशिने रकम भने घट्न सकेको छैन ।