जलेश्वरटुडे समाचारदाता
धनुषा, २३ बैशाख
मधेस प्याब्सन,प्याब्सन तथा नेपाल प्याब्सनले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी निजि विद्यालयहरुमा तथाकथित संचालक तथा प्रधानाध्यापकहरुद्वारा विगतमा अनाधिकृत रुपमा गरिएको अनुगमन तथा दुव्र्यवहार प्रति खेद प्रकट गर्दै निजि विद्यालय संचालनमा सहयोग गर्न सरोकारबालाहरुसँग हार्दिक अपिल गर्नु भएको छ ।
नेपाल प्याब्सनको नगर अध्यक्ष पंकज ठाकुरले निजि विद्यालयलाई निजि विद्यालयकै संस्थापक तथा प्रधानाध्यापक मात्रबाट अनाधिकृत रुपमा लक्षित गरी ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुल,नाइटिंगेल एजुकेशनल एकेडमी लगायत दर्जनौ विद्यालयहरुमा भएको अनुगमन प्रति खेद तथा चिन्ता व्यक्त गर्नु भएको छ । अध्यक्ष ठाकुरले अनुगमनको नाउँमा अनाधिकृत रुपमा निजि विद्यालयमा प्रवेश गरी प्रधानाध्यापकहरुलाई अनावश्यक प्रश्नहरु तथा दुव्र्यवहार समेत गरी समाजमा निजि विद्यालय अवैध जस्ता भ्रमपूर्ण समाचारको सम्प्रेषण गर्न गराउनु न्यायसँगत नरहेको बताउनु भयो । जब अनुगमन टोलि नै अनाधिकृत छन् भने उसले गरेको अनुगमन कतिको भरपर्दाे होला भन्ने तथ्य बुझ्न बुझाउन सरोकारबालाहरुलाई अध्यक्ष ठाकुरले आग्रह समेत गर्नु भयो ।
त्यसैगरी मधेस प्याब्सनको केन्द्रिय अध्यक्ष अमरेन्द्र झाले निजि विद्यालय संरक्षण समितिको गलत नियतका कारण आफू मधेस प्याब्सनको केन्द्रिय अध्यक्ष सो समितिको सल्लाहकार पदबाट राजिनामा गरी सके बाबजुद लक्षित गरी मजदुर दिवसको अवसरमा आफ्नो विद्यालय ग्यालैक्सी उच्च मा.वि. मा कार्यक्रम गरी रहेको बखत त्यही संरक्षण समितिका सदस्यहरु आएर मजदुर दिवस मनाउन नदिने कहाँ को निरंकुशता हो भन्ने चिन्ता व्यक्त गर्नु भयो । त्यसैगरी बुद्ध जयन्तिको दिन समेत आफ्नो विद्यालयमा कार्यक्रम गर्न धनुषा प्रमुख जिल्ला अधिकारी तथा स्थानिय चौकीको सहयोगमा २ जना प्रहरी राखि कार्यक्रम गरेको त्रासपूर्ण अवस्थाबारे पत्रकार सम्मेलन मार्फत आम अभिभावक तथा विभिन्न सरोकारबालाहरुलाई केन्द्रिय अध्यक्ष झाले जानकारी गराउनुु भयो । वहाँले शनिवार पनि सरकारी विद्यालय खोल्न पाउने र निजि विद्यालय दिवस मनाउन नपाउनु र त्यहि संरक्षण समितिको प्रतिनिधिहरुले आफ्नो विद्यालय बिदा दिनमा पनि संचालन गर्नु सरासर गलत र अनुचित रहेको बताउनु भयो । नेपाल कानुनी राज्य भएकोले कुनै पनि विद्यालयमा अनुगमन वा छापा मार्नको लागि अधिकारीक पत्र तथा अधिकारीक व्यक्ति हुन आवश्यक छ र हामीहरु अनुगमनको विरोधी नरहेको कुरा अध्यक्ष झाले बताउनु भयो । यदि कुनै विद्यालयमा राम्रो पढाई छैन,उद्देश्य अनुरुप काम भइरहेको छैन त्यस्ता विद्यालयलाई बन्द गरियोस तर अनुगमनको नाउँमा कुनै पनि निजि विद्यालयलाई दिइने दुखलाई हामी कदापि सहन सक्दैनौ र मधेस प्याब्सन,प्याब्सन तथा नेपाल प्याब्सन संयुक्त रुपमा आज पत्रकार सम्मेलन गरी अनाधिकृत रुपमा अनाधिकृत निजि विद्यालयको संस्थापक हाम्रो विद्यालयहरुमा अनुगमन नगरोस् भन्ने धारणा केन्द्रिय अध्यक्ष झाले राख्नुभयो ।
त्यसैगरी प्याब्सनको जिल्ला अध्यक्ष विनोद यादवले निजि विद्यालय संरक्षण समिति आफ्नो व्यक्तिगत हिसाबले काम गर्न थाले पछि हामी पनि सो समितिबाट हटेको बताउनु भयो । अध्यक्ष यादवले विगतमा भएको अनुगमनको बारेमा उपमहानगरको शिक्षा प्रमुख अन्जु पाण्डेय तथा मेयर मनोज साहले आफूहरुले कसैलाई पनि नखटाएको बताउनु भएको थियो । त्यसैगरी धनुषा प्रमुख जिल्ला अधिकारी काशि राज दाहालले समेत यो अनुगमन स्थानिय निकाय वा सम्बन्धित सरोकारबालाहरुले गर्ने हो तर यदि कसैले अनाधिकृत रुपमा अनुगमन गरेको छ भन्ने कारवाही हुन्छ भन्ने कुरा पत्रकार सम्मेलन मार्फत आम अभिभावक तथा सम्बन्धित सरोकारबालाहरुलाई अवगत गराउनु भयो ।