जलेश्वर महादेवको आस्था र रातो नदीको सभ्याताबाट बिकसित शहरको कथा, जनकपुर भन्दा पहिल्यै अस्तित्वमा रहेको जलेश्वर ओझेलमा – Jaleshwortoday

जलेश्वर महादेवको आस्था र रातो नदीको सभ्याताबाट बिकसित शहरको कथा, जनकपुर भन्दा पहिल्यै अस्तित्वमा रहेको जलेश्वर ओझेलमा

 ३० बैशाख २०८०, शनिबार २२:२१  
ddd

  • राकेश प्रसाद चौधरी
    जनकपुर शहर बन्नुभन्दा अगाडि बैभवशाली र राज्य संचालनमा महत्वपूर्ण योग्दान दिएको जलेश्वर ओझेलमा छ । मुलुकलाई प्रधानन्याधीश, मन्त्री, सांसद, सचिव दिएको जलेश्वर प्राचिन शहरमध्येको एक हो । रातो नदीको सभ्यता र जलेश्वर महादेवको आस्था बोकेको यो ठाउँको ब्यबस्थित शहरीकरण समेत हुन सकेको छैन ।
    जलेश्वरभन्दा बढी बिकसित शहरको रूपमा अहिले जनकपुरधाम र बर्दिवास मात्र नभई भारतीय सीमावर्ती सुरसण्ड, पुपरी र सीतामढीको नाम लिन थालिएको छ । ‘संसारीमाईको महत्वता रहेको जलेश्वर क्षेत्रको इतिहास प्रकृति पुजक सिकारी र संकलक समाज झण्डै पाँच हजार बर्ष अगाडि बाटै शुरु भएको हुनुपर्छ’ जलेश्वर नगरपालिकाको सुगा घर भई काठमाण्डौ बस्दै आएका राजनीतिक विश्लेषक सिके लाल भन्छन्,‘जलेश्वर महाराजा रणोद्दिप सिंहको शासनकाल भन्दा अगाडि देखि नै महत्व पाएको छ ।’
    जर्मन अनुसन्धानकर्ता कार्निनसले १० बर्ष लगाएर रातो नदीको आधार क्षेत्रमा प्राचीन मानवले जीवनयापन गर्न मद्दत पुग्ने ढुंगे औजारको उद्योग २०४२ सालमा भेटिएको लेख नेपाल मिथ एण्ड रियालिटिज नामक पुस्तकमा समेटिएको छ । सन् २००९ मा प्रकाशित यस पुस्तकमा राम थापा र जोचिम बाडेनले ४२ वटा लेख समेटेका छन् । प्राचीन मानव सभ्यता बोकेको यस क्षेत्रको विभिन्न ठाउँमा शिवालय रहेको बीचमा राजा इक्ष्बाकुको छोरा महाराज निमिले घोर तपस्या गरि राज्य स्थापना गरेको विषय मिथिला महात्म्यमा उल्लेख छ । यस पुस्तकमा महाराज निमिले स्थापना गरेको निमिकानन राज्यको नैऋर्ती कोण(दक्षिण– पश्चिमी दिशा) मा ग्राम रक्षक महादेव भैरव रहेको उल्लेख रहेको तथा सर्वसिद्धिदायक जलेश्वर शिवलिंगबारे उल्लेख छ ।
    एक हजार बर्ष अगाडि सिमरौन राज्य संचालनका बखतको जलेश्वर गढी, मकवानपुर सेन राज्यमा महोत्तरी प्रान्तको राजधानी, राणाकालमा महोत्तरी सर्लाही गोश्वाराको केन्द्र एवं पंचायती ब्यबस्थामा जनकपुर अंचलको राजधानी रहेको यो शहरको बैभवमा बिस्तारै ह्रास आएको हो ।
    सन् १७६३ मा पृथ्वीनारायण शाहको गोर्खाली सेनाबाट मकवानपुरका सेन राजालाई जोगाउन सहयोगका लागि आउने मीर काशिमको फौज तथा सन् १७६७ मा काठमाण्डौका राजा जयप्रकाश मल्ललाई सहयोग गर्न किनलकको नेतृत्वमा आएको अंग्रेज सेनालाई असहयोग गर्नेमा जलेश्वरका बासिन्दा समेत रहेको मिडिल कन्ट्री पुस्तकका लेखक राममनोहर साह बताउँछन् ।
    जलेश्वर महादेव मन्दिरका पुजारी ७० बर्षीय उपेन्द्र पाठक भन्छन्,‘जलेश्वर गढी भनिएपनि त्यहाँ पूराना इतिहास दर्शाउने कुनै भौतिक संरचना छैन । मकवानपुरको सेन राज्यपछि शाहवंशीय राजाको हातमा यो ठाउँ आएपछि सन् १७७४ र १८१० मा महन्थ अनुप गिरीलाई प्रदान गरिएको लालमोहरलाई राजा गिर्वाणयुद्धले सन् १८१२ मा नविकरण गरेको तामपत्र मात्रै छ ।’
    मन्दिरको पुजापाठ एवं जलेश्वर गुलजार बनाउनका तत्कालिन महन्थ अनुप गिरीलाई जलेश्वर, महादेवपट्टि, बहेडा, हरिहरपुरसहितका मौजे प्रदान गरिएको थियो । जलेश्वरलाई गुलजार अथवा शहर बनाउने प्रक्रिया दुई शताब्दीभन्दा अगाडिबाट नै भएको देखिन्छ ।
    सन् १८६४ मा महाराजाको पदवी पाइसकेका र सैनिकको कमान्ड सम्हालेका रणोद्दिप सिंह कुँवरले यज्ञनीधि पौडेललाई जलेश्वरमा सेनाका लागि रासन उपलब्ध हुने बजार(गोला) स्थापना गर्न खटाइएको विषय मार्च १९८५ मा प्रकाशित रेग्मी रिसर्च सिरिजमा समेटिएको छ । जलेश्वरमा सेनाका लागि रासन बाहिरबाट ल्याउनुपर्ने समस्या समाधान गर्न बजार(गोला) स्थापना गरिएको थियो । अझैसम्म मधेशमा रासन(धान, गहुँलगायतका खाधान्न) बिक्री हुने स्थानलाई गोला भन्ने चलन कायमै
  • छ ।
    हालको जिल्ला समन्वय समिति महोत्तरीको सभाकक्ष र समन्वय अधिकारी निवास रहेको जग्गामा तत्कालिन समयमा सेनाको ब्यारेक राखिएको जलेश्वर सेवानिबृत कर्मचारी राजेन्द्र प्रसाद चौधरी बताउँछन् । तत्कालिन समयमा सो जग्गा आफूहरुको पुर्खाको रहेको उनी सम्झन्छन् ।
    राणाकालको गुलजार जलेश्वर अहिले सुनसान
    सन् १८४६ बाट जंगबहादुर कुँवरले शुरू गरेको राणाशासनकाल सन् १८९० सम्ममा जलेश्वरभित्र ब्यबस्थित कर असुली केन्द्र, हुलाक सेवा , भन्सार, कारागार, अस्पतालसहितका सेवा सुचारू भइसकेको थियो ।
    जलेश्वरमा सन् १८८२ तिर कर संकलनका लागि नियुक्त सुवेदारले हुलाकबाट काठमाण्डौस्थित मुलुकी खानामा पठाएको पत्रको खामको तस्विर नेपालको हुलाक टिकटहरू संकलन तथा अध्ययन गर्ने वोल्फगैंग सी. हेलरिगलले एउटा पुस्तकमा समावेश गरेका छन् ।
    सन् १८८९ काठमाण्डौमा बीर अस्पताल शुरुवात भएलगत्तै जलेश्वरमा पृथ्वी अस्पताल शुरू भएको थियो । जनकपुर अंचल, महोत्तरी जिल्ला हुँदै प्रादेशिक अस्पतालमा रूपान्तरित यो अस्पतालको भवन नयाँ बनाइएपनि सेवाको स्तरबृद्धि हुन बाँकि छ ।
    ‘भन्सार अड्डाको कार्यालय हालको जलेश्वर परिक्रममा गाछीको दक्षिणतर्फ थियो’ स्थानीय गोपाल प्रसाद साह भन्छन् ,‘ त्यहाँ रहेको भवन तथा इनारको अस्तित्व अहिले समाप्त भइसकेको छ । महेन्द्र राजमार्गको ढल्केवरसँग जनकपुर–जलेश्वर–भिठामोड सडके जोडिएपछि भन्सार कार्यालय जलेश्वरकै मलिवारामा सारिएको हो।’ भन्सार विभागले सन् २०१९ मा प्रकाशन गरेको ‘हिष्ट्री अफ नेपाल कष्टम्स’ मा मध्यकालिन समयमा भारतबाट महोत्तरी, जनकपुर, तिनपाटन, सिन्धुली, भक्तपुर हुँदै काठमाण्डौसम्म चलनचलतीको बाटो रहेको उल्लेख गरेको छ । सन् १९५६ सालमा जलेश्वर ‘ख’ दर्जाको भन्सार कार्यालय थियो । यस भन्सार कार्यालयको मातहतमा चिसापानी सहायक भन्सारसँगै हाल धनुषा र महोत्तरीका सबै छोटी भन्सार थियो । राणाकालमै निर्मित जलेश्वर कारागार जीर्ण भएपनि कैदी बन्दी राख्न छोडिएको छैन ।
    जलेश्वरलाई शहर कसरी बनाउने ?
    आदर्श गाउँ पंचायतबाट २०३९ साल बैशाख १५ गते नगरमा परिणत भएको जलेश्वरलाई शहर बनाउन तत्कालिन नगर प्रमुख योगेन्द्र प्रसाद चौधरीले गुरूयोजना निर्माण गरि केही काम गरेका थिए । स्थानीय रामबिलास साह भन्छन्,‘ पुरन्धर सरोबरको तीनतिर पार्क बनाइएको थियो । सडकहरू स्तरोन्नती गर्ने काम भएको थियो । त्यसपछि आएका नगरप्रमुखहरूले सडक बिस्तार र स्तरोन्नतीमा ध्यान दिएपनि बजार बिस्तारमा कसैको ध्यान जान सकेन । बजार बिस्तार र पर्यटन प्रवद्र्धन कार्यमा ध्यान दिइए मात्र यो ठाउँ शहर बन्न सक्छ ।’ सन् १९४७ मा जलेश्वरमा महोत्तरी क्लव तथा पुस्तकालय खुलिसकेको थियो । अहिले पुस्तकालमा एउटा पुस्तक छैन , पत्रपत्रिका पनि आउँदैन । जलेश्वरलाई शहर बनाउन यो पुस्तकालयमा पुस्तकको भण्डार हुनुपर्ने माग गर्ने स्थानीयवासी मौन भइसकेका छन् ।
    जलेश्वरमा शहरी वातावरण बनाउन ग्रामिण क्षेत्रलाई जोड्ने काम गर्नुपर्छ । यस क्षेत्रका हरेक पर्यटकीय क्षेत्र एकअर्कासँग जोडिएको हुनुपर्छ । हरेक धर्मका पर्यटकलाई तान्न यहाँ मिथिला भोजनको ब्यबस्था एवम् पोखरी तथा नदीमा परम्परागत तरीकाले माछा मार्ने खेल शुरू गरिए पर्यटन व्यवसाय फस्टाउन सक्ने आशा गर्न सकिन्छ ।
    सन् १९५० देखि ८० को दशकसम्म जलेश्वरमा चुरोट काराखाना, स्टिल कारखाना, आँखा अस्पतलसहित उद्योग तथा अस्पताल संचालनका लागि जग्गा खोज्ने काम जलेश्वरमै भएको थियो । उद्योग खोल्न त्यतिबेला कसैले जग्गा दिएनन, अहिले जलेश्वरमा उद्योग, कलकारखाना, अस्पताल, होटललगायतमा लगानी गर्न कोही आउन चाहेका छैनन । सन् १९८५ मा जलेश्वर महादेव मन्दिरको तस्विर अंकित १० पैसाको हुलाक टिकट प्रकाशनमा आएपछि हालसम्म यस ठाउँलाई पहिचान दिलाउन राज्यपक्षबाट कुनै पहल भएकोे छैन ।
    आर्थिक बर्ष २०७९÷८० को बजेटमा भिठामोड–जलेश्वर–जनकपुर(२० किमी) रेल यातायात सेवा विस्तारको सम्भाव्यता अध्ययन, सुख्खा बन्दरगाह निर्माणको सम्भाव्यता अध्ययन, शहरी विकास कार्यक्रम,सडक स्तारोन्नतिलगायतको योजना राखिएपनि कार्यसम्पन्न हुनेमा यहाँका बासिन्दा विश्वस्त छैनन । जलेश्वरमा २५ बर्षमा मनिपाल कलेज बनाउन नसक्ने नीजि कम्पनी र बर्षोदेखि भन्सार असुली गर्ने भिठामोड–जलेश्वर–जनकपुर सडक सुधार गर्न नसक्ने सरकारले रेलको सपना देखाउनु उस्ताउस्तै रहेको भन्दै नगरमा व्यंग गर्ने गरेको सुनिन्छ ।

जलेश्वर नामाकरण र संसारीमाई
जलेश्वर नगरपालिका कार्यालयले २०३९ सालमा एक प्रतिवेदनमार्फत आफ्नो पालिकाको नामाकरण जलमा ईश्वर रहेकोले जलेश्वर भएको उल्लेख गर्यो । सोही प्रतिवेदन उल्लेख भए अनुसार सतयुगमा भगवान शंकरले मयदानवको त्रिपुर राज्य नष्ट गरिसकेपछि उत्पन्न भएको ज्वालालाई महालिङ्ग(ठुलो शिवलिङ्ग) बनाई ध्यानमग्न भएका थिए । ज्वाला शान्त भई त्यहाँ जल उत्पन्न भएकोले यस शिवलिङ्गको नाम जलेश्वर रह्न गई यस ठाउँको नाम जलेश्वर हुन गएको चर्चा गर्ने गरिन्छ । शिव पुराणमा उल्लेख भगवान शिवको १००८ नाममध्ये जलेश्वर पनि एक हो ।
भगवान शंकरले महामाया शक्ति स्वरूपा संसारीमाईको आर्शिवाद प्राप्त गरेपछि मात्र मयदानवको त्रिपुर नष्ट गर्न सफल भएको विश्वास जनमानसमा छ । त्यसै कारण संसारीमाई र जलेश्वर महादेवलाई मनोकामना पूरा गर्ने सिद्धिदायक देवीदेवताको रूपमा पुजा गर्ने गरिन्छ ।
संसारीमाईको पुजा हजारौं बर्ष पहिलेबाट शुरू भएको मानव सभ्यताबारे अध्ययन गर्नेहरूको तर्क छ । तथापि जलेश्वरमा संसारीमाईको काष्ठप्रतिमा पुजा कहिलेबाट शुरू भएको अध्ययन हुन सकेको छैन । तत्कालिन समयमा जलेश्वर कारागारको पश्चिमतर्फ साहुजी टोल निवासी बिलट कलवारको जग्गामा संसारीमाईको काष्ठप्रतिमालाई पुजापाठ गर्ने गरिएको थियो । यो जग्गा १९६७ सालको नापी हुँदा बिलटको बुवा मिठु कलवारको नाममा थियो । जलेश्वर महादेव मन्दिर, राजदेवीलगायतका मन्दिरहरूको जीर्णेद्वार गरिएपछि १९९६ सालमा संसारीमाईको महापुजा भएका विश्वास गर्ने गरिन्छ ।
संसारीमाईको काष्ठप्रतिमा रहेको ठाउँभन्दा उत्तरतर्फ बर्षको धेरैजसो समयमा पानीले भरिने भएकोले जिविकोपार्जनका लागि बिन जातिका मानिसहरूले यसै स्थानमा माछा मार्ने गर्दथे । धेरैदिनसम्म जालमा एउटा पनि माछा नपरेपछि माछामार्नेहरूले संसारीमाईसँग भाकल गरेपछि उनीहरुको जनजीवन सहज बनेको थियो ।
जलेश्वर कारागार र सरकारी कार्यालयहरूको पैखाना टिनामा हालेर संसारीमाई मन्दिर नजिकै फाल्न थालिएपछि २०२० सालमा ठुलो महामारी फैलिएको विश्वास गर्ने गरिन्छ । काष्ठप्रतिमा समेत जीर्ण भइसकेको थियो । त्यसपछि २०२१ सालमा महापुजा गरेर संसारीमाईलाई मनाएर हालको बरूण सरोबरको किनारमा नयाँ काष्ठप्रतिमा स्थापित गरिएको थियो ।
पूरानो स्थानबाट स्थानान्तरण भएदेखि महामाया संसारीमाईको भगवती स्वरूपलाई साहुजी टोलका व्याहुत कलवार परिवारले आफ्नै घरमा स्थापित गरि पुजापाठ गर्दै आएका छन् । साथै सो परिवारले १९८३ साल सम्मको हकभोग कायम रहेको आफ्नै जग्गाको सार्वजनिक हकहितका लागि छोडेको कारण २०२१ सालमा नापी नै गराएनन् ।