
जलेश्वरटुडे समाचारदाता
धनुषा, ११ जेष्ठ
मिटरब्याजको हल्ला चलाएर आफुहरुलाई डर, धाक धम्की तथा आफुहरुको पुँजी असुरक्षित बनाएको भन्दै धनुषा–महोत्तरी लेनदेन संघर्ष समिति गठन गरिएको छ ।
समाजमा एक अर्कालाई सहयोग गर्ने मानविय व्यवहारको आधारमा पुस्तौ देखि गरिदै आएको ब्याज लागानीको पक्षमा समितिले जनकपुरधाममा विरोध प्रदर्शन समेत गरेको छ । समितिले विभिन्न ६ सुत्रीय मागसहित प्रदर्शन गरेको हो ।
उनीहरूले मिटरब्याजको नाममा भइरहेको लेनदेन आतंक बन्द गर्नुपर्ने, स्थानिय निकायमा जाँचबुझ गरि मात्र प्रमाणको आधारमा उजुरी दर्ता गर्ने प्रावधान हुनुपर्ने, लेनदेन सम्बन्धी उजुरी बिना प्रमाण दर्ता नगर्नुपर्ने, जिल्ला प्रशासन कार्यालय धनुषा तथा मिटरब्याज जाँचबुझ आयोगमा दर्ता भएको निवेदनहरू हाल जारी भएको मुलुकी देवानी संहिता २०७४ को ३६ को ३ (ख) बमोजिम जाँचबुझ तथा छलफलको लागी स्थानिय सरकारलाई जिम्मा लगाउनुपर्ने, आफूहरूले लगाएको लगानीहरू कानून बमोजिम साँवा र ब्याजसहित उपलब्ध हुनुपर्ने र लेनदेनको व्यवहारलाई मर्यादित र सहज बनाउनुपर्ने माग गरेका छन् ।
यी मागहरूसहित उनीहरूले धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल समक्ष ज्ञापनपत्र समेत बुझाएका छन् । प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै समितिका अध्यक्ष विजय यादवले समाजमा रहेका प्रत्येक मानवलाई दैनिक काम गर्नका लागी एक अर्कासँग कानून बमोजिम लेनदेन गर्ने हक अधिकार मुलुकी देवानी संहिता २०७४ को दफा ४७४ मा रहेको र सोही बमोजिम आफूहरूले पनि विभिन्न बैंक तथा बित्तिय संस्थाबाट ऋण लिएर समाजमा अभावमा रहेका आवश्यक पर्ने व्यक्तिमा विगतदेखि नै प्रचलित कानून बमोजिम आवश्यकता अनुसार ऋण लेनदेन गर्दै आएको भएपनि अहिले मिटर ब्याजको नाममा सबैलाई डराउने पैसा नदिने सहितको धाक धम्की दिने काम भएको बताउछन् ।
उनले जनताले घर व्यवहार चलाउनका लागी ईष्ट मित्र, छर छिमेकीबाट नेपालको प्रचलित कानून बमोजिम कपाली तमसुक बनाई लेनदेन गर्न तथा जनजिविका चलाउँदै आएको अवस्थामा केहि गलत सोच भएका र बईमानीको मानशिकता भएकाहरुले दल विशेषको साहारामा आफूहरूको ऋण तिर्न नपरोस भन्ने मनशायले मिटरब्याजीको हल्ला र अभियान चलाई सबैलाई एकै किसिमको व्यवहार र तुलना गरेकोप्रति दु:ख व्यक्त गरे । उनले आफूहरूको माग पुरा नभए चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।