राकेशप्रसाद चौधरी
जलेश्वर, १९ जेठ
जलेश्वरमा प्रत्येक पाँच बर्षमा एक पटक मनाइने संसारीमाई महापुजा शुक्रवारदेखि विधिबत रुपमा शुरू भएको छ । आठ दिनसम्म मनाइने महापुजाको पहिलो दिन सरसफाई कार्यक्रम गरिएको छ ।
संसारीमाई महापुजाको अवसरमा कलश यात्रा, महापाठ, अष्टजाम, हनुमान आराधना, लखरामपुजा, बिडीसलामी, पंचवली, आरतीसहितको कार्यक्रम रहेको मूल समारोह समितिका अध्यक्ष अशोक कुमार साहले बताए । उनले महापुजा अवधिभर धार्मिक प्रवचन तथा रासलिला कार्यक्रम हुने जानकारी दिए । मिथिला क्षेत्रभित्र जलेश्वर बाहेकको ठाउँमा संसारीमाईको मन्दिर छैन । परम्परागत विधि एवम् तन्त्रमन्त्र सहित धामी (पुजारी) को घर तथा संसारीमाई मन्दिर परिसरमा पुजापाठ हुन्छ ।
महापुजाको अन्तिम दिन धामीको घरमा नेपाली सेनाले सलामी दिने प्रचलन हुनुका साथै संसारीमाईलाई बोका, सुँगुर, भेडा, कुखुरा र राँगाको पंचवली दिने परम्परा छ । धामी महेन्द्र मुखियाले भने,‘पाँच पुस्तादेखि हाम्रो परिवारले संसारीमाईको सेवा गरिरहेको छ । हालको जलेश्वर कारागार नजिकै रहेको काष्ठप्रतिमालाई संसारीमाईको रूपमा पुजा गर्ने गरिन्थ्यो, पछि बरूण सरोवरको किनारमा प्राण प्रतिष्ठा गरि पुजापाठ शुरु भयो । त्यसभन्दा अगाडि संसारीमाईको पुजारी कुन समूदायबाट थिए, त्यो कसैलाई थाहा छैन ।’
अहिले संसारीमाईको पुजापाठ गर्ने धामी मधेशको अल्पसंख्यक बिन जातिबाट छन् । संसारीमाईको महापुजा पहिला १२ बर्षमा महामारी र विपद् रोक्न मनाइने परम्परा रहे पनि बिस्तारै नौ, सात हुँदै पाँच बर्षमा झारिएको हो । स्थानीयका अनुसार जलेश्वर महादेव र संसारीमाईको सम्बन्धबारे अध्ययन हुनु आवश्यक छ । अनुमानित एक करोड खर्च हुने महापुजामा दश लाख भन्दा बढी श्रद्धालु आउने सम्भावना रहेको मूल समारोह समितिका अध्यक्ष साहले बताए । संसारीमाईको महापुजामा सहभागी हुन टाढा टाढाबाट श्रद्धालु आउने क्रम शुरू भइसकेको छ ।