मिथिला नगरपालिकामा तालाबन्दी, इमरजेन्सी सेवा सञ्चालनमा समस्या – Jaleshwortoday

मिथिला नगरपालिकामा तालाबन्दी, इमरजेन्सी सेवा सञ्चालनमा समस्या

 २४ जेष्ठ २०८०, बुधबार २३:०६  
dd

जलेश्वरटुडे समाचारदाता
धनुषा, २४ जेष्ठ

मिथिला नगरपालिकाको ढल्केवरस्थित अस्पतालमा इमरजेन्सी सेवा संचालनका लागि कर्मचारी भर्ना प्रक्रिया रोकिएपछि आक्रोशित स्थानीयले नगरपालिकामा तालाबन्दी गरेका छन् । इमरजेन्सी सेवा संचालनका लागि कर्मचारी भर्ना प्रक्रिया स्थगित गरेपछि आक्रोशित स्थानीयले नगरपालिकाका मेयर, उपमेयर र कार्यकारी अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका हुन । नगरपालिकाद्वारा अस्पतालमा इमरजेन्सी सेवा संचालनका लागि कार्यविधि तयार गरी राजपत्रमा प्रकाशन सहितका सम्पूर्ण प्रक्रिया पूरा भई कर्मचारी भर्नाका लागि जेठ २५ गते आवेदकहरुको अन्तवार्ता लिने कार्यक्रम तय गरिएको थियो । यद्यपि एक्कासी कर्मचारी भर्ना प्रकृया स्थगित गरिएपछि आक्रोशित स्थानीयले नगरपालिकामा आएर नाराबाजी गर्दै तालाबन्दी गरेको स्वास्थ्य शाखाका प्रमुख अशोक भण्डारीले बताए । अन्तवार्ताको दूई दिन समय बाँकी रहेको अवस्थामा नगरपालिकाका उपमेयर सुनिता सिंह बुढाथोकी र एमालेबाट निर्वाचित केही बोर्ड सदस्यले कार्यकारी अधिकृत बसन्त न्यौपानेलाई दबाव दिएर कर्मचारी भर्ना प्रकृया रोक्न लगाएका आरोप स्थानीयको छ । तालाबन्दी गर्न पुगेका स्थानीय परमेश्वर महतोले भने ‘ढल्केवर अस्पतालमा इमरजेन्सी सेवा संचालनका लागि विज्ञापन गरिएको अनमी सहितका पदका भर्ना प्रक्रिया एक्कासी अन्तिम समयमा रोकिएकाले तालाबन्दी गरेका हौं ।’ उपमेयर बुढाथोकी र एमालेबाट निर्वाचित बोर्डका केही सदस्यहरुले नियतवश आफ्ना मान्छे भर्ना गर्न रोक्न लगाएका उनको आरोप छ । घटना बारे कार्यकारी अधिकृत न्यौपानेले भने ‘अस्पतालमा इमरजेन्सी सेवा संचालनका लागि हामीले विज्ञापन गरेका थियौं, अन्तवार्ताका लागि जेठ २५ गतेका लागि मिति पनि तोकियौं । तर कार्यपालिका सदस्यहरुबाट छलफल गराएर मात्र प्रक्रिया अघि बढाउन सुझाव आएपछि हालका लागि अनमी पदको अन्तवार्ता स्थगित गर्नु परेको हो ।’ यस सम्बन्धमा नगरपालिकाका मेयर महेन्द्र महतोले सरसफाई देखि इमरजेन्सी सेवा सहितका आवश्यक कर्मचारी पूर्ति गर्न नगरपरिषद्बबाट निर्णय गराएर प्रक्रिया अघि बढाएपछि कार्यपालिकाका सदस्यहरुले कार्यविधिबाट काम अगाडि बढाउन भनेपछि कार्यविधि बनाएर पनि अघि बढेपछि उनीहरुले अवरोध गर्ने काम गरेको बताए । मेयर महतोले भने ‘कार्यपालिकाको सदस्य साथीहरुको छलफलबाट कार्यविधि अनुसार इमरजेन्सी सेवा संचालनका लागि अनमी सहितका कर्मचारी भर्ना गर्न खाजेपछि अन्तवार्ताको अन्तिम समयमा आएर अधिकृत न्यौपानेलाई दबाव दिएर रोक्न लगाएको हो ।’ इमरजेन्सी सेवा संचालनका लागि नगरपालिकाले स्वास्थ्य उपकरणहरु समेत खरीद गरिसकेको छ भने कर्मचारी भर्नाको तयारीमा जुटेका छन् । गएको असोज १२ गतेमै नगरपालिकाले मेडिकल अधिकृत २, ल्याब टेक्नोलोजिस्ट १, अनमी ४, स्वीपर २ जना सहितको आवश्यक कर्मचारी भर्नाको विज्ञापन प्रकाशन गरेको थियो ।