
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २५ जेष्ठ
आज पाँच वर्ष पछि जेष्ठ १९ गते देखि मनाइदै आइरहेका संसारीमाईको अन्तिम पुजा बलि प्रदान भई समाप्त हुने महापुजा मुल समितिको अध्यक्ष अशोक साहले बताउनु भएको छ । बलि प्रदान पूर्व निर्धारित समयानुसार दिउँसो ३ बजेदेखि शुरु हुने समेत जानकारी गराउनु भयो । साथै सम्पूर्ण भक्तजनहरुलाई बलि चढाउने पशुको लागि टिकट कटाई लाइनमा शान्तिपूर्ण ढंगले प्रतिक्षा गरेर पालो पर्खेर बस्न आग्रह समेत अध्यक्ष साहले गर्नु भयो ।
जलेश्वरमा प्रत्येक पाँच बर्षमा एक पटक मनाइने संसारीमाई महापुजा शुक्रवारदेखि शुरू भएको थियो । आठ दिनसम्म मनाइने महापुजाको पहिलो दिन सरसफाई कार्यक्रम गरिएको थियो ।
संसारीमाई महापुजाको अवसरमा कलश यात्रा, महापाठ, अष्टजाम, हनुमान आराधना, लखरामपुजा, बिडीसलामी, पंचवली, आरतीसहितको कार्यक्रम गरिएको मूल समारोह समितिका अध्यक्ष अशोक कुमार साहले बताए । उनले महापुजा अवधिभर धार्मिक प्रवचन तथा रासलिला कार्यक्रम गरिएको जानकारी दिए । मिथिला क्षेत्रभित्र जलेश्वरबाहेकको ठाउँमा संसारीमाईको मन्दिर छैन । परम्परागत विधि एवम् तन्त्रमन्त्र सहित धामी(पुजारी) को घर तथा संसारीमाई मन्दिर परिसरमा पुजापाठ हुन्छ । महापुजाको अन्तिम दिन धामीको घरमा नेपाली सेनाले सलामी दिने प्रचलन हुनुका साथै संसारी माईलाई बोका, सुँगुर, भेडा, कुखुरा र राँगाको पंचवली दिने परम्परा छ ।
धामी महेन्द्र मुखियाले भने,‘पाँच पुस्तादेखि हाम्रो परिवारले संसारीमाईको सेवा गरिरहेको छ । हालको जलेश्वर कारागार नजिकै रहेको काष्ठप्रतिमालाई संसारीमाईको रूपमा पुजा गर्ने गरिन्थ्यो, पछि बरूण सरोवरको किनारमा प्राण प्रतिष्ठा गरि पुजापाठ शुरु भयो ।
त्यसभन्दा अगाडि संसारीमाईको पुजारी कुन समूदायबाट थिए, त्यो कसैलाई थाहा छैन ।’ अहिले संसारीमाईको पुजापाठ गर्ने धामी मधेशको अल्पसंख्यक बिन जातिबाट छन् । संसारीमाईको महापुजा पहिला १२ बर्षमा महामारी र विपद् रोक्न मनाइने परम्परा रहेपनि बिस्तारै नौ, सात हुँदै पाँचबर्षमा झारिएको हो । स्थानीयका अनुसार जलेश्वर महादेव र संसारीमाईको सम्बन्धबारे अध्ययन हुनु आवश्यक छ । संसारीमाईको महापुजामा सहभागी हुन टाढा टाढाबाट आएका श्रद्धालुहरुलाई महापुजा समितिको अध्यक्ष साहले हार्दिक स्वागत तथा अभिनन्दन गरेका छन् । सबै भक्तजनहरु तथा अतिथिहरुलाई सेवा भावले सहयोग र स्वागत गर्न जलेश्वर नगरपालिका नगरप्रमुख सुरेश साह सोनारले समस्त महापुजाका पदाधिकारी तथा नगरबासीहरुसँग आग्रह गर्नु भएको छ ।