जलेश्वरटुडे समाचारदाता
धनुषा, ३१ जेष्ठ
मधेस प्रदेश आमसञ्चार प्राधिकरणको लोक कल्याणकारी विज्ञापन समितिको संयोजक प्रतिमा चौधरीको संयोजकत्व तथा अध्यक्षतामा संचालित बैठकमा निजको उपस्थिति र माइन्युत किताबमा हुनु पर्ने हस्ताक्षर बिना नै महत्वपूर्ण निर्णयहरु मनोमानी ढंगले गरिएको बुझिएको छ ।
सो बैठक विभिन्न प्रस्तावहरुमाथि छलफल गरी निर्णयहरु गर्न २०८० साल जेष्ठ २५ गते बिहिबार बिहान ७ बजेर ३० मिनेटमा संचालन भएको मान्यूत किताबमा लेखिएको विवरणबाट खुल्न आएको छ ।
जसमध्ये मान्यूट किताब अनुसार प्रस्ताव नं.—२ माथि छलफल गरेर जनकपुर टेलिभिजन,टाइम्स टेलिभिजन र कृष्णा राष्ट्रिय दैनिक तोकिएको समयमै कागजात कार्यालयमा बुझाए पनि दर्ता गर्न छुट हुन गएकोले सो सञ्चार माध्यमहरुलाई हालको मितिमा दर्ता गरी नियमानुसार विज्ञापन दिने निर्णय गरिएको सो मान्यूत किताबमा लेखिएको छ । तर २०८० साल जेष्ठ २३ गते मंगलबार दिनको करिब १ बजे कार्यालयमा नै पुगी महोत्तरीबाट संचालित बर्गीकरणमा परेको पत्रिका जलेश्वर टुडेको प्रकाशक तथा सम्पादक पवन कुमार साहले आ.व.२०७९।०८० मा आफ्नो पत्रिकाले लोककल्याणकारी विज्ञापन प्राप्त गर्न समयमै भर्नु पर्ने फाराम विभिन्न कारणले भर्न नसकेकोले त्यसको समायोजन गरिदिन हुनको लागि र आ.व.२०७८।०७९ मा प्राधिकरणले प्रदान गरेको विज्ञापन प्रकाशन गरे पनि अहिलेसम्म सो रकम नपाएकोले सो यथासिघ्र उपलब्ध गराई दिन पत्र संख्या २०५ लाई आमसञ्चार प्राधिकरणको प्रशासन शाखामा दर्ता गराएका थिए ।
जलेश्वर टुडे दैनिक विज्ञापनको लागि दर्ता भएको २ दिन पछि बोर्डको बैठक बसेको र सो बैठकबाट तीन वटा सञ्चार माध्यमहरुलाई विज्ञापन प्रकाशन गर्नको लागि सिफारिस गरेको तर जलेश्वर टुडे दैनिक पत्रिकालाई मात्र सिफारिस नदिएको कारण प्रकाशक तथा सम्पादक साहले संयोजकको हस्ताक्षर र उपस्थिति बिना मनोमानी ढंगले भएको निर्णय प्रति आपत्ति जनाउदै सो निर्णय खारेजीको माँग सँगै सो को छानबिनको लागि सम्बन्धित सरोकारबालाहरुसँग जोडदार माँग गरेका छन् ।
सो बैठकमा बोर्ड सदस्यहरु मेडिया काउन्सिलको कार्यवाहक अध्यक्ष कैलास दास,राजेश कुमार कर्ण,विष्णु कुँबर,मनोज यादव,आर.सी. यादव,सदस्य सचिव उपेन्द्र कुमार सिंह र आमन्त्रित सदस्यहरुमा आमसञ्चार प्राधिकरणको अध्यक्ष श्याम सुन्दर यादव र ई.सतिश साहको उपस्थिति रहेको मान्यूत किताबमा भएको हस्ताक्षरबाट बुझिएको छ । संयोजक प्रतिमा चौधरी आमसञ्चार प्राधिकरणको वोर्ड सदस्य समेत हुन् ।